भक्तपुरमा भोट गनेर सकियो, यस्तो आयो परिणाम

भक्तपुरमा भोट गनेर सकियो, यस्तो आयो परिणाम

भक्तपुरका चार वटै नगरपालिकाको मतपरिणाम सार्वजनिक भएको छ । आज बिहान सूर्यविनायक नगरपालिकाको नतिजा आएसँगै जिल्लाका सबै स्थानीय तहको अन्तिम परिणाम आएको हो ।

जिल्लाका चार नगरपालिकामध्ये नेपाली कांग्रेसले दुई वटामा नगर प्रमुख जितेको छ । मध्यपुर थिमि र चाँगुनारायण नगरपालिकाको नेतृत्व कांग्रेसले हात पारेको हो । नेकपा एमालेले सुर्यविनायकको प्रमुख र उपप्रमुख तथा चाँगुनारायणाको उपप्रमुखमा जितेको छ । अघिल्लो स्थानिय निर्वाचनमा चाँगुनारायणमा एमालले प्रमुख र उपप्रमुख दुवै पद जितेको थियो ।

चांगुनारायणमा प्रमुखमा नेपाली कांग्रेसका जीवन खत्री र उपप्रमुखमा एमालेबाट रमेश बुढाथोकीले बिजय हासिल गरेका छन् । सूर्यविनायकको प्रमुखमा एमालेका वासुदेव थापा १४७५८ मतसहित मेयरमा दोहोरिएका छन् । प्रमुख प्रतिष्पर्धी कांग्रेसका उम्मेदवार निशान ढुंगेललाई झिनो मतले हराउँदै थापाले चुनाव जितेका हुन् । ढुंगेलले १३ हजार २ सय ३२ मत ल्याए ।

उपप्रमुखमा एमालेकै सरिता भट्टराईले १४ हजार ७८५ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम् प्रतिष्पर्धी एकिकृत समाजवादीका श्याम सुन्दर बस्नेतले ६ हजार ६ सय ४१ मत पाए ।

भक्तपुर नगरपालिकामा मात्रै सीमित रहेको नेपाल मजदुर किसान पार्टीले नगरपालिकाको प्रमुख र उपप्रमुखसहित सबै वडा जितेको छ । अघिल्लो जितलाई अझ बलियो बनाउँदै नेमकिपाले नगरप्रमुखमा सुनिल प्रजापति दोहोर्याएको छ भने उपप्रमुखमा रजनी जोशी आएकी छिन् । १० वटै वडामा वडाध्यक्ष जितेर उसले शतप्रतिशत नतिजा निकालेको हो ।

मध्यपुर थिमी नगरपालिकाको प्रमुखमा कांग्रेसबाट सुरेन्द्र श्रेष्ठले र माओवादी केन्द्रबाट उपप्रमुखमा बिजयकृष्ण श्रेष्ठले जितेका छन् । यहाँ कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए ।

भक्तपुर जिल्लाका ३८ वटा वडामध्ये नेपाली काँग्रेसले सबैभन्दा बढी १५ वडा जितेको छ । सूर्यविनायकका १० मध्ये पाँच वडाध्यक्ष जितेको कांग्रेसले मध्यपुरका ९ मध्ये ६ र चाँगुनारायणका ९ मध्ये ४ वटामा जित हात पारेको हो । एमालेले सूर्यविनायक नगरपालिकाको ५, मध्यपुर थिमिका २ र चाँगुनारायणका २ गरि ९ वटा वडा जित्न सफल भएको छ ।

भक्तपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि चाँगुनारायण नगरपालिकाका ६ र ७ नं. वडामा जित दर्ता गरेको छ ।

टिप्पणीहरू