अमेरिकी मन्त्रीको टोली जावलाखेल शरणार्थी शिविरबाट सोझै बौद्ध शिविरमा

अमेरिकी मन्त्रीको टोली जावलाखेल शरणार्थी शिविरबाट सोझै बौद्ध शिविरमा

नेपालको तीन दिने औपचारिक भ्रमणमा आएको भनिएको अमेरिकी उपविदेशमन्त्रीको टोली काठमाडौं उत्रेपछि नै तिब्बती शरणार्थी र दलाई लामाका सांसदहरुसँग औपचारिक सम्पर्कमा जुटेको छ । हिजो साँझ दलाई लामाका दुई जना सांसदहरुहरुसँग अमेरिकी दूतावासमा अमेरिकी अधिकारीहरुले बातचित गरेका थिए ।

आज बिहानदेखि उनीहरु काठमाडौंमा रहेका तिब्बती शरणार्थीहरुसँग खुलमखुल्ला भेटघाट र औपचारिक कुराकानीमा जुटेका हुन् । झण्डै तीन घण्टासम्म जावलाखेलको शिविरमा छलफलमा जुटेको अमेरिकी उपविदेशमन्त्री उर्जा जियाको टोली अहिले त्यहाँबबाट सोझै बौद्ध पुगेको छ ।

अमेरिकी अधिकारीहरुको आजको दिवाभोजको कार्यक्रम समेत तिब्बती शरणार्थी शिविरभित्रै आयोजना गरिएको थियो । अहिले बौद्धस्थित शिविरमा त्यस्तै कार्यक्रमको आयोजना गरिएको बताइन्छ ।

भोलि साँझ स्वदेश फर्कने कार्यतालिका रहेको अमेरिकी मन्त्रीको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाँणालगायतसँग भोलि दिउँसो भेटवार्ता गर्ने भनिएको छ ।

यसअघि भारतको तीन दिने भ्रमणमा रहेको उक्त टोलीले धर्मशाला पुगेर दलाई लामासँग भेट गरेको थियो ।

टिप्पणीहरू