शीर्ष नेताहरुबीच भेटघाट तीब्र, खुमलटारमा ‘धमलाको हमला’

शीर्ष नेताहरुबीच भेटघाट तीब्र, खुमलटारमा ‘धमलाको हमला’

स्थानीय निर्वाचनको क्रममा अघिल्लो दुई हप्ता भेटघाट पातलिए पनि गत बिहीबारदेखि राजनीतिक दलका नेता तथा मन्त्रीहरुबीचको भेटघाट बाक्लिएको छ । हिजो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बिहानैदेखि नेताहरु पुगेका थिए ।

हिजो बिहान झिसमिसेमै ऊर्जामन्त्री पम्फा भुसाल त्यहाँ पुग्नुभयो । उहाँहरुबीच सवा घण्टा भेटवार्ता भएको बताइन्छ । त्यसपछि ऋषि धमला खुमलटार पुगेर अध्यक्ष दाहालसँग बिहान ८ बजेदेखि ९ बजेसम्म लामै कुरा रेकर्ड गरे ।

धमलापछि दाहालसँग भेटघाट गर्न माओवादी नेता नारायणकाजी श्रेष्ठ त्यहाँ पुग्नुभयो । उहाँ १० बजेदेखि ११ बजेसम्म भित्रै गफ्फिनुभयो ।

उता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाटको निम्ति एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ हिजो बिहान भक्तपुरको बाल्कोट पुग्नुभयो । उहाँहरुबीच खाजा खाने बेलासम्म इलामदेखि कन्चनपुरसम्म र सँसददेखि काठमाण्डौको चुनावसम्मका प्रसङ्ग छेडिएको अध्यक्ष ओलीका निजी सचिव राजेश बज्राचार्यले बताए ।

त्यसपछि अध्यक्ष ओलीसँग भेट्न पूर्वमाओवादी तथा हाल एमाले सचिव टोपबहादुर रायमाझी त्यहाँ पुग्नुभएको थियो । उहाँहरुबीच अर्घाखाँचीमा भएको चुनाव र माओवादीबाट मिस्सिएको भोटले एमाले उम्मेदवारको विजयमा पुर्याएको योगदानवारे दिउँसो झण्डै एक घण्टा भेटवार्ता भयो ।

त्यसपछि एमालेका पूर्व कार्यालय सचिव शेरबहादुर तामाङ अध्यक्ष ओलीसँग कुराकानी गर्न बालकोट पुग्नुभयो । उहाँहरुबीच सिन्धुपाल्चोकमा खस्किएको पोजिसन र माधव नेपालबाहेक एकीकृत समाजवादीतिर लागेका सबैलाई घर फर्कन आह्वान गर्ने विषयमा झण्डै तीन घण्टा गहन छलफल भएको स्रोतको दाबी छ ।

यता बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सत्ता गठबन्धनको निर्वाचन समीक्षा बैठक बस्यो । अपरान्ह साढे ५ बजेसम्म भएको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव,सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतको उपस्थिति थियो ।

टिप्पणीहरू