अमेरिकी उपमन्त्रीद्वारा डेढ दर्जन तिब्बती शरणार्थीको राय ‘नोटेड’

अमेरिकी उपमन्त्रीद्वारा डेढ दर्जन तिब्बती शरणार्थीको राय ‘नोटेड’

नेपाल भ्रमणमा रहनुभएकी अमेरिकी उपविदेशमत्री उज्रा जियाले हिजो जाउलाखेलस्थित तिब्बती शरणार्थी क्याम्पमा दलाई लामाका सांसदहरुको उपस्थितिवीच तिब्बती शरणार्थी र तिनका परिवारसँग भलाकुसारी गर्नुभएको छ ।

सोत्र क्रममा उनीहरुले छानेका १७ जना शरणार्थीले आफ्ना राय र सुझाव प्रस्तुत गरेका थिए । कार्यक्रमको शुरुमै जियाले तपाईंहरुको मुख्य समस्या के हो ? भनेर सोध्नुभएको थियो । कुराकानीको क्रममा उहाँले पटक पटक अमेरिकी सरकार तिब्बती शरणार्थीहरुलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको धारणा राख्नुभएको थियो ।

अमेरिकी सरकारका तिब्बत मामिलासम्बन्धी विशेष संयोजक जियाले नोट गर्दै गर्दा तिब्बतीहरुले आफ्ना पीडाको बेलिबिस्तार लगाएका थिए ।

उनीहरुले २०५१ सालपछि हालसम्म शरणार्थी कार्ड बनाउने कार्य रोकिएकाले १३ हजारभन्दा बढी तिब्बती कार्ड बनाउनबाट छुटेको बताए । ती सबैलाई नेपाल सरकारले अवैध ठानेर त्यस्तै व्यवहार गर्दै आएको पनि उल्लेख गरे । त्यसैले जतिसक्दो छिटो शरणार्थी कार्ड बनाउनुपर्ने,अन्यथा आफूहरुले प्रशासनबाट दुःख झेलिरहनुपर्ने उनीहरुको दुखेसो थियो ।

सोही कुरोमा जोड दिँदै अर्का शरणार्थीले भने, ‘कार्ड समयमा नबनाइदिँदा धेरै युवा निराश भएका छन् । जति सक्दो छिटो कार्ड वितरणको पहल थाल्नु आवश्यक छ ।’

अमेरिकी मन्त्रीसँग केहीले शरणार्थीहरु चीनको आर्थिक प्रलोभनमा बिकेको समेत बताएका थिए । चीनले मोटो रकम दिएर शरणार्थीलाई किनेपछि आफूहरुलाई अप्ठेरो परेको केहीको गुनासो थियो । ‘स्वार्थीहरु पैसामा बिकेर व्यक्तिगत धन्दामा लागेकाले समग्र शरणार्थीहरुको आन्दोलन कमजोर बन्यो । चीनले नक्कली शरणार्थी बनाएर दलाई लामाको अपमान गर्यो,’ एक जनाले अमेरिकी टोलीलाई सुनाए ।

अर्का एक जनाको भनाइ मानवअधिकारसँग सम्बन्धित थियो । नेपालमा आएपछि जन्मेका ती तिब्बतीले चीन र तिब्बत अहिलेसम्म देखेका छैनन् । चीनमा मानवअधिकार नभएकाले यो विषयलाई अमेरिकाले जोडतोडका साथ उठाइदिनुपर्ने उनको जोडदार माग रह्यो ।

चिनियाँ शासनमा मानवअधिकार नभएकाले तिब्बतीहरुको मानवअधिकारको कुरो उठाइदिन उनले अमेरिकी मन्त्रीलाई आग्रह गरेको बारे जियाले नोटेड भन्नुभयो ।

अर्का एक जनाले चीन र नेपालबीचको सम्बन्धमा नै असर पर्नेगरी आफ्ना कुरा राखेका थिए । उनको भनाइ थियो, ‘चीन सरकारले नेपाल सरकारलाई किन्यो । त्यसैले सिडिओ कार्यालयबाट जारी कार्ड नवीकरण गर्न थोरै समय दिँदा धेरै शरणार्थी कार्डविहीन भए,’ उनको रोइलो हो यो ।

चीनले नेपाल सरकारमार्फत् दबाब दिएर दलाई लामाको जन्मदिन मनाउन नदिएको आरोप पनि उनीहरुले लगाएका थिए । मानवअधिकारको उल्लंघन अधिक भएको भन्दै उनीहरुले तिब्बतमा नागरिकलाई चीनले नजरबन्दमा राखेको तर उनीहरु नेपाल आउन चाहेकाले यता आएर विदेश जान पाउने गरी आवश्यक दबाब दिन पनि उनीहरुले अमेरिकीहरुसमक्ष कुरा राखेका थिए ।

तिब्बती स्वतन्त्रताको निम्ति जस्तोसुकै बलिदान गर्न आफूहरु तयार रहेको तिब्बती शरणार्थीहरुले हिजो बताए । उनीहरुले आफ्ना नेताहरु चिनियाँको मोटो रकमको प्रलोभनमा बिकेकाले सानो टिम बनाएर रणनीति अघि सार्न सुझाव दिएका छन् ।

उनीहरुले चिनियाँ सुराकीको रुपमा पहिचान गरिएका शरणार्थी र तिनका नेतालाई नाङ्गेझार पार्न आफूहरु तयार रहेको विवरण अमेरिकीहरुलाई सुनाएका थिए ।

यसरी खुलमखुल्ला नेपाल भ्रमणको नाममा भएको शरणार्थीहरुसँगको भेटघाटमा अधिकांश क्याम्पबाट प्रतिनिधित्व गराइएको थियो । जावलाखेल तिब्बती शरणार्थी शिविरमा त्यहाँका प्रमुख छेतेन तासी,पूर्वशिविर प्रमुख कर्मा दावा,स्वयम्भू ठूलोभर्याङस्थित नाम्गेल मिडलका लागि दलाई लामाका प्रतिनिधि सुल्ठिम ग्यात्सो,दलाइ लामाको प्रतिनिधि कार्यालय गाडेन खाङ्सार लाजिम्पाटका सचिव तथा स्वयम्भू शरणार्थी क्याम्प प्रमुख कर्मा ग्याल्जेन पनि उपस्थित थिए ।

त्यसैगरी नेपालका लागि दलाई लामाका पूर्वप्रतिनिधि ताम्दिङ्ग दोर्जे तुलाधर,बौद्ध शरणार्थी क्याम्पका प्रमुख नावाङ छोक्डुप, दलाई लामाको निर्वासित सरकारका सांसद सेर्ता टासी ढुण्डुप,रत्सा सोनाम नोर्बुलगायत झण्डै तीन सय शरणार्थीको उपस्थिति रहेको बताइन्छ ।

उक्त कार्यक्रममा जियासँगै भ्रमण दलमा रहेकी युएसएआईडीका उपसहायक प्रशासक अञ्जली कौरलगायत सहभागी थिए । उनीहरुले छलफल र अन्तरक्रियासँगै शरणार्थीहरुको बासस्थान,वृद्धाश्रम तथा स्कुलको नयाँ भवन अवलोकन गरेका थिए ।

अमेरिकी टोलीले हिजै साँझ साढे ५ बजेदेखि साढे ६ बजेसम्म बौद्ध स्तुपाको अवलोकन भ्रमण गरेको थियो । टोलीलाई बौद्ध क्षेत्र विकास समाज समितिका अध्यक्ष राजकुमार लामाले स्वागत गरेका थिए ।

टिप्पणीहरू