एक भोटले बनाएको जिन्दगी,बिगारेको भविष्य
मधेस प्रदेशका डेढ दर्जन बढी वडामा एक भोटको अन्तरले हारजित भएको छ । प्रदेशको आठ जिल्लाका १९ वडामा १ भोटले वडाध्यक्षको छिनोफानो भएको हो ।
एक भोटले चुनाव जितेर वडाध्यक्षको कुर्सीमा पुग्नेहरुमा प्रमुख दलका उम्मेदवारदेखि स्वतन्त्रसमेत छन् । सप्तरीको बोदे बर्साइन नगरपालिका-३ मा नेपाली कांग्रेसका शिवनारायण यादव माओवादी उम्मेदवारलाई १ भोटले हराएर वडाध्यक्ष बने । उनले ६०० भोट पाउँदा माओवादी उम्मेदवारले ५९९ मत ल्याए । सप्तरीकै राजविराज नगरपालिका-४ मा पनि त्यसैगरी १ भोटले वडाध्यक्षको टुंगो लाग्यो । त्यहाँ जसपाका दिनेशकुमार साहले ३११ भोट ल्याएर जित्दा स्वतन्त्र उम्मेदवारले ३१० भोट पाए ।
त्यसैगरी, सिराहाका ३ वटा वडामा पनि १ मतले वडाध्यक्षको छिनोफानो भएको छ । बरियारपट्टि गाउँपालिका-१ मा काँग्रेसका देवेन्द्रप्रसाद यादवले ९४८ भोट ल्याएर जित्दा जसपाका उम्मेदवारले ९४७ मत पाएर पनि हार्नुपर्यो । औरही गाउँपालिका-५ मा जसपाका रामप्रित यादवले एक भोट कम ल्याएका एमाले उम्मेदवारलाई हराएर वडाध्यक्ष जिते । यादवले ४७२ र हार्नेले ४७१ मत पाए । सिराहा नगरपालिका-७ मा एमालेबाट फुटेको एकीकृत समाजवादीले एक भोटले उसैलाई हराएर वडाध्यक्ष जित्यो । समाजवादीका बिनोदकुमार यादवले ३५६ मत पाउँदा एमाले उम्मेदवारले ३५५ मत ल्याए ।
त्यस्तै,धनुषाका चार वटा वडामा पनि एक भोटको हारजित भएको छ । धनुषाधाम नगरपालिका-८, गणेशमान चारनाथ नगरपालिका-२, कमला नगरपालिका-२ र जनकनन्दनी गाउँपालिका -५ मा वडाध्यक्षका उम्मेदवारहरुले एक-एक भोटले जित हात पारेका हुन् । धनुषाधाम-८ मा एमालेका कपिलबहादुर बस्नेतले ५२२ भोट ल्याएका कांग्रेस उमेदवारलाई हराए भने गणेशमान चारनाथ-२ मा राप्रपाका ज्योतिदिप हमालले २३१ भोट ल्याएर २३० मत पाएका जनमतका उम्मेदवारलाई पराजित गरे । कमला-२ मा माओवादीका रामभगत यादवले एकीकृत समाजवादीका उम्मेदवारलाई एक भोटले हराएर वडाध्यक्ष सुनिश्चित गरे । यादवले ३८३ भोट पाएका छन् । जनक नन्दनी-५ मा जसपाका अशोककुमार मण्डलले ३३० भोट पाएर कांग्रेस उम्मेदवारलाई हराए ।
महोत्तरीको पनि चार वटा वडामा एक भोटको फरकमा वडाध्यक्षको टुंगो लागेको छ । बर्दिवासका दुई वटा वडा, गौशाला र महोत्तरी नगरपालिकामा एक भोटको हारजित भएको हो । बर्दिवास नगरपालिका-७ मा ७७२ भोट ल्याएका स्वतन्त्र उम्मेदवार रामस्वगारत यादवले माओवादीलाई र वडा नम्बर ७ मा स्वतन्त्रकै अर्का उम्मेदवारले कांग्रेसलाई हराए । स्वतन्त्र उम्मेदवार विजयकुमार महतोले ५०८ भोट पाउँदा कांग्रेस उम्मेदवारले ५०७ भोट पाए । गौशाला नगरपालिकाको वडा नम्बर १२ मा जसपाले लोसपालाई एक भोटले हरायो । त्यहाँ जसपाका कुशेश्वर सिंहले ५४४ र लोसपाका उम्मेदवारले ५४३ भोट ल्याए । महोत्तरी नगरपालिका-१ मा लोसपाका रन्जितकुमार चौधरीले ३६५ मत ल्याएका एमाले उम्मेदवारलाई हराए ।
सर्लाहीको हरिवन-७ मा एमालेका निरध्वज कार्कीले ३७९ मत ल्याएर जित हात पार्दा कांग्रेसका उम्मेदवारले ३७८ मत पाएर पनि हार्नुपर्यो । बरहथवा नगरपालिका-१४ मा जसपाले कांग्रेसलाई १ भोटले हरायो । जसपाका दिपेन्द्रप्रसाद यादवले ३६८ र कांग्रेस उम्मेदवारले ३६७ भोट पाए । बाराको आदर्शकोट गाउँपालिका वडा नम्बर ३ मा पनि १ भोटको जित हार भयो । कांग्रेसका शशीभुषण प्रियदर्शीले ३८६ भोट ल्याएर ३८५ मत पाएका जसपा उम्मेदवारलाई पराजित गरेका हुन् ।
पर्साका दुई वडामा पनि त्यसैगरी एक मतले वडाध्यक्षको टुंगो लागेको छ । बिन्दबासिनी गाउँपालिका-३ र जागरनाथपुर गाउँपालिका-६ मा कांग्रेस र एमालेका उम्मेदवारबीच एक मतको हारजित भएको हो । बिन्दबासिनीमा-३ मा ११८४ भोट ल्याएका एमाले उम्मेदवारलाई पराजित गरी कांग्रेसका जयप्रकाश चौरासियाले वडाध्यक्ष जित्दा जगरनाथपुर-६ मा एमालेले ९०४ भोटले जितेर बदला लिएको हो । त्यहाँ कांग्रेस उम्मेदवारले ९०३ भोट ल्याए ।
टिप्पणीहरू