जित्नासाथ किरिया खर्च दिने र कार्यालयमै खाना खुवाउने घोषणा

जित्नासाथ किरिया खर्च दिने र कार्यालयमै खाना खुवाउने घोषणा

नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुले विभिन्न लोकप्रिय कार्यक्रमहरु सार्वजनिक गरेका छन् । कर्णाली प्रदेशका जनप्रतिनिधिहरुले शपथपछि पदभार ग्रहण गर्दै थरीथरीका घोषणा गर्न थालेका हुन् ।

कर्णालीको १० जिल्लाका ७९ पालिकाका जनप्रतिनिधिहरुले शुरुमा घोषणाको कामलाई प्राथमिकतामा राखेका हुन् । जसमा बृद्धभत्ता आफैँ बाँड्न जानेदेखि मृत्यु संस्कारमा खर्चको जोहो गर्नेसम्मको कार्यक्रम समावेश छ ।

उनीहरुले चुनाव लड्दासमेत विभिन्न लोकप्रिय एजेण्डा अघि सारेर विपक्षी उम्मेदवारभन्दा बढी प्रभावकारी देखिने होडबाजी गरेका थिए । कतिपयले तिनै एजेण्डालाई चुनाव जितेपछि दाेहाेर्‍याउन थालेका छन् ।

रुकुम पश्चिम चौरजहारी नगरपालिकामा पहिलो पटक वादी समुदायको तर्फबाट मेयर बनेका पुष्प वादीले स्वास्थ्य बीमा र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् । उनले नगरभित्रका असहाय,अशक्त,शहीद परिवार र वादी समुदायको निःशुल्क बीमा गराइदिने निर्णय गरेका हुन् । पदभार ग्रहणसँगै वादीले नगरभित्रका विपन्न नागरिकको स्वास्थ्य उपचारमा सघाउने निर्णय गरे ।

पदभार ग्रहणका क्रममा तीन वटा निर्णयमा हस्ताक्षर गरेका उनले सुत्केरीलाई स्वास्थ्य संस्था पुर्‍याउने र सुत्केरी भइसकेपछि स्वास्थ्य संस्थाबाट घरसम्म पुर्‍याउने सेवा निःशुल्क गर्ने जनाएका हुन् ।

६ नम्बर वडाको एक परिवारलाई १० हजार आर्थिक सहायता गर्ने पनि उनको निर्णय छ । यसैबीच आगलागीका कारण मृत्यु भएकी १९ दिने शिशु सुशीला रोकायको परिवारलाई १० हजार आर्थिक सहायता गर्ने गरी नगरप्रमुख वादीले हस्ताक्षर गरेका छन् ।

जाजरकोट छेडागाड नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख रत्नबहादुर खड्काले राज्यबाट प्राप्त हुने सेवासुविधा नलिने घोषणा गरेका छन् । पदभार ग्रहण गर्दै प्रमुख खड्काले राज्यबाट प्रदान हुने तलबभत्ता आफूले नलिने भनेका हुन् ।

आफूले प्राप्त गर्ने तलब भत्ताबाट कोष स्थापना गरी गरिब,अनाथ पिछडिएका र द्वन्द्वपीडित बालबालिकालाई सहयोग गर्ने बताए । ‘मैले राज्यबाट प्राप्त हुने सेवा सुविधा नलिई गरिब तथा विपन्न बालबालिकाहरूमा लगानी गर्नेछु । एउटा कोषको स्थापना गरी उनीहरूलाई सहयोग गर्नेछु । म सेवा सुविधा लिन्नँ,’ मेयर खड्काले भने ।

अघिल्लो निर्वाचनमा निवर्तमान प्रमुख लालबहादुर महतारासँग पराजित खड्का यस पटक नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए । ९ हजार १७३ मत ल्याएर उनले निवर्तमान महतारालाई पराजित गरेका थिए ।

दैलेखको नारायण नगरपालिका-१ का नवनिर्वाचित वडाध्यक्ष सन्देशकुमार श्रेष्ठले वडामा कोही नागरिकको मृत्यु भए मृतकको परिवारलाई १५ हजार रुपैयाँ दिने निर्णय गरेका छन् । निर्णयसम्बन्धी पत्र सार्वजनिक भएपछि उनको कतिपयले आलोचना पनि गरेका छन् । नेपाली कांग्रेसबाट ३७८ मत ल्याएर निर्वाचित बनेका श्रेष्ठले भने निर्णयको बचाउ गरेका छन् ।

‘उनीहरूको परिवारमा कोही व्यक्ति निधन भएमा काजकिरिया गर्ने बेलामा पैसा हुँदैन । बाहिर अहिले वकालत गर्ने बेलामा उच्छृङ्खल तरिकाले गरे पनि त्यही पैसाले ठूलो राहत पुग्ला भन्ने हेतुले मैले त्यो निर्णय गरेको हुँ,’ श्रेष्ठले भने ।

उनले सामाजिक सञ्जालमा आफूमाथि भएका टिप्पणीप्रति कुनै सरोकार नभएको बताए । ‘त्यो पनि न्यून आय भएको व्यक्तिका लागि । सु-सम्पन्न व्यक्ति त लिन नै आउँदैन नि ?,’ उनले भने, ‘वर्षमा कम्तिमा ५/१० वटै व्यक्तिहरुको निधन होला । मैले गरेको निर्णयका आधारमा त्यो किसिमको रकम वडामा दिन नमिल्ने भए, वा पालिकाले नदिने भएपनि मेरो पारिश्रमिकले पनि पुग्छ । पारिश्रमिकबाट भएपनि दिन्छु ।,’

जाजरकोट शिवालय गाउँपालिकाकी उपाध्यक्ष गिता शाहीले वृद्धभत्ता गाउँ, गाउँ गएर वितरण गर्ने र न्याय लिन पालिकामा आएका महिलालाई सुरक्षित आवास ,खाना र बस्नको लागि व्यवस्था गर्ने बताएकी छिन् । २४ वर्षीया कान्छी उपाध्यक्ष शाहीले यो पहिलो घोषणा गरेकी हुन् ।

टिप्पणीहरू