गण्डकीमा काँग्रेस र एमाले बराबर,जसपा शून्य
नेपाली कांग्रेसभन्दा झण्डै १३० तह कम जितेर देशैभर दोस्रो भएको नेकपा एमाले गण्डकी प्रदेशमा भने हाराहारीको शक्ति बनेको छ । छ वटा प्रदेशमा पहिलो बनेको काँग्रेसलाई बराबरीमा रोकेर एमालेले गण्डकीमा आफ्नो बलियो उपस्थिति देखाएको हो ।
११ जिल्ला रहेको गण्डकीमा दुवै पार्टीले समान ३५ पालिकाको नेतृत्व पाएका छन् । गोरखामा ‘क्लिन स्विप’ हुँदा पनि एमालेले कांग्रेसलाई बराबरीमा रोक्न सकेको छ । मुस्ताङको एक तहमा खुम्चिएको कांग्रेसले गोरखा,मनाङ,कास्की, नवलपरासी बर्दघाट पूर्व र म्याग्दीमा समान दुई -दुई पालिकामा प्रमुख जितेको छ । लमजुङ र तनहुँ चार,स्याङ्जा र पर्वतमा पाँच पालिकाको नेतृत्व पाएको कांग्रेसले बाग्लुङमा सर्वाधिक छ स्थानीय तह जितेको छ ।
एमालेले स्याङ्गजा र नवलपरासी बर्दघाटमा सर्वाधिक छ-छ तहमा आफ्ना उम्मेदवार जिताएको छ भने लमजुङ्ग,तनहुँ, मुस्ताङ र म्याग्दीका चार-चार तह हात पारेको छ । मनाङ, कास्की र पर्वतमा दुई-दुई पालिका जितेको एमालेले बाग्लुङ्गमा एक तह पाएको छ ।
प्रदेशभरि जम्मा ११ तहको नेतृत्व जितेर तेस्रो भएको माओवादी केन्द्रले गोरखामा मात्रै नौ वटा पालिका हात पारेको छ । तनहुँ र बाग्लुङमा माओवादीका एक-एक उम्मेदवार विजयी भएका छन् ।
माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले भने मत गणना भैरहेको कास्कीको पोखरा महानगरपालिकामा अग्रता लिनुबाहेक अन्यत्र कतै जितेको छैन । संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको गृहप्रदेश गण्डकीमा जनता समाजवादी पार्टी भने शून्य भएको छ ।
टिप्पणीहरू