६५ सय वडाको नतिजा सार्वजनिक, माओवादी तेस्रोमै

६५ सय वडाको नतिजा सार्वजनिक, माओवादी तेस्रोमै

वैैशाख ३० गते सम्पन्न स्थानीय तहको मतपरिणाम आउने क्रम अब अन्तिममा पुगेको छ । अपरान्ह साढे ४ बजेसम्म ७१३ भन्दा बढी स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । जसअनुसार नेपाली काँग्रेस पहिलो र नेकपा एमालेले दोस्रो स्थान बनाएका छन् ।

महानगर, नगर, गाउँपालिकाभित्रका वडाहरुको पनि नतिजा धमाधम आउने क्रम जारी छ । जसमा छ हजार चार सय ९५ वडाको मतपरिणाम आइसकेको छ ।

त्यसमा काँग्रेस २५ सय ६४ वडा जितेर वडास्तरमा पनि पहिलो पार्टी बन्न सफल भएको छ । यस्तै, पालिकाभित्र पर्ने १० वडामा अहिले काँग्रेसले अग्रता लिएको छ । काँग्रेसका २५ सय १८ महिला सदस्य, २४ सय ६५ दलित महिला सदस्य र ५१ सय १७ वडा सदस्यमा निर्वाचित भएका छन् ।

दोस्रो स्थानमा रहेको एमालेले कुल वडामध्ये दुई हजार ५६ वडाध्यक्ष जितेको छ भने नौ वडामा अगाडि छ । यस्तै, २२ सय ५० महिला सदस्य, २१ सय ९८ दलित महिला सदस्य र ४५ सय ११ वडा सदस्यमा एमाले विजयी भएको हो ।

नेकपा माओवादी केन्द्र एक हजार ३२ वडामा जीत हात पार्न सफल भएको छ । यसपटकको चुनावमा पनि तेस्रो स्थानमा रहेको माओवादीले ९४३ महिला सदस्य, ९५२ दलित महिला सदस्य र १७ सय ७० वडा सदस्यमा विजयी भएको छ ।

पालिकामा कमजोर देखिएको जनता समाजवादी पार्टी नेपालले वडामा थोरै भए पनि सफलता पाएको छ । जसपा २८० वडाध्यक्ष, २८० महिला सदस्य, २७८ दलित महिला सदस्य र ५५८ वडा सदस्यमा निर्वाचित भएको हो ।

अन्य राजनीतिक पार्टी र स्वतन्त्रले ५६३ वडाध्यक्ष, ५०१ महिला सदस्य, ४८६ दलित महिला सदस्य र एक हजार ३५ सदस्य जितेका हुन् । हालसम्म देशभरि ३३ हजार छ सय १५ जना जनप्रतिनिधिहरू निर्वाचित भइसकेका छन् । अब गणना हुन बाँकी रहेका स्थानबाट एक हजार छ सय छ जना जनप्रतिनिधि निर्वाचितको घोषणा हुन बाँकी छ ।

कुल ३५ हजार दुई सय २१ पदको लागि प्रमुख,उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्यको निम्ति एक लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए ।

टिप्पणीहरू