बलात्कार घटनामा हदम्याद हटाउन महिला माननीयहरुको माग
महिला सांसदहरुले नाबालिकामाथि हुने बलात्कारलगायतका जघन्य अपराधका घटनामा हदम्याद लगाउने कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका छन् । नेकपा एमालेकी सांसद विन्दा पाण्डे, नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल, माओवादी केन्द्रकी सांसद अमृता थापामगरले उक्त माग गर्नुभएको हो ।
प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले आज सिंहदरबारमा आयोजना गरेको अनौपचारिक छलफलमा बोल्दै सांसद पाण्डेले सरकारले हदम्याद हटाउनेगरि तत्काल कानुन संशोधन नगरे आफूहरुले संसदमा संकल्प प्रस्ताव ल्याउने चेतावनी दिनुभयो । यस्तै, सांसद पाण्डेले महिलामाथि हुने यौनजन्य हिंसाका घटना बढ्दै गए पनि त्यसलाई नियन्त्रण गर्न सरकारले नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।
सांसद भुसालले सौन्दर्य प्रतियोगिताका आयोजकले अपराध गरेको भन्ने कुरा स्वतः सिद्ध भएकाले घटनाका पीडित युवतीलाई तत्काल न्याय दिन माग गर्नुभयो । उहाँले अपराधीमाथि अनुसन्धान थालेर तत्काल कारबाही गर्न कुनै ढिलाई नगर्न सरकारलाई सचेत गराउनुभयो ।
यता, सांसद अमृताले यौन हिंसामा परेकाहरुलाई तत्काल राहतको व्यवस्था पनि कानुनमै उल्लेख गर्न सरकारलाई दबाब दिनुभयो । उहाँले मनोरञ्जन र अनौपचारिक क्षेत्रका महिलाहरु यौन हिंसाका कारण प्रताडित हुनु परेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि राजनीतिक पार्टी र त्यसका भ्रातृ संगठनहरुले पनि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
टिप्पणीहरू