लाश चिर्न नमान्ने डाक्टरलाई कारवाही गरियोस् : एमाले
-कमल भट्टराई
ताप्लेजुङ एमालेले जिल्ला अस्पतालमा कार्यरत चिकित्सकलाई तत्काल कारवाहीको माग गरेको छ । चुनावको २ दिनअगाडि बैशाख ३८ गते शंकास्पद अवस्थामा भेटिएका एक जना युवकको शव पोष्टमार्टम गर्न ढिलाई गरेको र पोष्टमार्टमको निम्ति अनुरोध गर्दा गैरजिम्मेवार जवाफ दिएका चिकित्सकलाई कारवाहीको माग गरिएको हो ।
मिक्वाखोला १ खोक्लिङका २३ वर्षीय विमल कार्की वैशाख २९ गते मृत अवस्थामा भेटिएपछि उनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याएर राखिएको थियो । पोष्टमार्टममा ढिलाइ भएपछि एमाले जिल्ला कमिटी उपाध्यक्ष सन्तोष खतिवडाले छिटो सक्न अनुरोध गरेका थिए ।
तर टेलिफोन सम्वादमा एमालेका कुरा नसुन्ने भन्दै चिकित्सक दिपेन्द्र बोखिमले गैरजिम्मेवार जवाफ दिएकाले उनीमाथि कारवाहीको माग गरिएको बताइएको छ । सम्वेदनशील निकायको जिम्मेवारीमा बसेर गैरजिम्मेवार जवाफ दिएका बोखिमलाई आवश्यक कार्यवाहीको निम्ति एमालेले हिजो माग गरेको हो ।
एमाले जिल्ला कमिटी उपसचिव मणिशंकर पोमूद्वारा जिल्ला प्रशासन कार्यालयमा हालिएको निवेदनमा डाक्टरको उक्त व्यवहारले स्वास्थ्य संस्थामाथि अविश्वास बढाएको विवरण उल्लेख छ ।

टिप्पणीहरू