काठमाडौंका जनताले किन रोजे स्वतन्त्र र दलीय ?

काठमाडौंका जनताले किन रोजे स्वतन्त्र र दलीय ?

काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणामले बेग्लै खालको उत्साह थपेको छ । प्राप्त मतको ट्रेण्डलाई हेर्दा मतदाताले निकै सचेत र चनाखो भएर उम्मेदवार छनौट गरेको देखिएको हो ।

विकास र समृध्दिको ओठे नारा लगाउने पुराना र ठूला राजनीतिक दलको जेनेरेशन १ तहका (पुराना पुस्ता) नेताहरुको गैरजिम्मेवार व्यवहारले नयाँ पुस्ताका मतदातालाई विकल्प रोज्न बाध्य पारेको अर्थ लगाइएको छ । मेयर र उपमेयरमा छानेका उम्मेदवारलाई उनीहरुको भाषा,वर्ण,लिंग र राजनीतिक रंगभन्दा माथि उठेर नयाँ पुस्ताले रोजेको प्रष्ट हुन्छ ।

काठमाडौंको नयाँ पुस्ताले यस पटकको निर्वाचनमा सम्भावना बोकेका जुझारु युवा पुस्तालाई अवसर प्रदान गरेका हुन् भन्न अब हिच्किचाउन नपर्ने भएको छ ।

मतदानअघि बालेन साहले आफूले कुनै पनि राजनीतिक दलसँग प्रतिस्पर्धा गर्न काठमाडौंको मेयर पदमा उम्मेदवारी नदिएको सटिक जवाफ दिएका थिए । उनले अप्रत्यक्ष रुपमा राजनीतिक पार्टीका प्रतिनिधिले पटक पटक काठमाडौं महानगरको जिम्मा लिए पनि केही नगरेको निश्कर्ष सुनाएका थिए ।

३२ वर्षे युवा साह यसपटक धेरैको रोजाइमा परेका हुन् ।

मेयरमा साह मात्र हैन मतदाताले उपमेयरमा पनि त्यस्तै उम्मेदवारको छनौट गरेका छन् । ३० वर्षको छेउमा पुगेकी भरभराउँदी सुन्दरी सुनिता डंगोललाई झन् बढीले मन पराएका छन् । उनको बौध्दिक क्षमताको बारेमा मतदाताहरुले बेलैमा अनुमान लगाइसकेका थिए ।

मतगणना जारी छ । साह र डंगोल अब प्रतिस्पर्धीले भेट्न नसक्ने गरी अगाडि पुगिसकेका छन् । अब उनीहरुले पनि जनता परिवर्तनको पक्षमा हिजो थिए,आज छन् र भोलि पनि हुन्छन् भन्ने यथार्थलाई गुरु मन्त्र मान्नुपर्ने अवस्था छ ।
हिजो नेतृत्वमा पुगेका मेयर, उपमेयर र जनप्रतिनिधिले उक्त वास्तविकतालाई आत्मसात् नगरेका कारण आज मतदाताले वैकल्पिक मार्ग अपनाउँदा साह र डंगोल आजको अवस्थामा छानिएका हुन् ।

दलकै भए पनि युवा र नयाँ विचारका उम्मेदवारलाई जनताले साथ दिन्छन् भन्ने कुराको गतिलो प्रमाण सुनिता डंगोल हुने लाइनमा देखिएकी छन् ।

टिप्पणीहरू