पेट्रोलियम पदार्थको भाउ नघटाए सडकमा ओइरिने चेतावनी
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गराइएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।
दैनिक जनजीवनसँग जोडिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनताको ढाड सेकेको ठहर गर्दै अविलम्ब मूल्यवृद्धि फिर्ता लिन माग गरिएको हो ।
‘बहुसंख्यक जनताले निम्न आयमा गुजारा गर्नुपर्ने हाम्रोजस्तो मुलुकमा सरकार नियन्त्रित आयल निगमको जनविरोधी रबैवाले सीमा नाघेको छ’, विज्ञप्तिमा भनिएको छ ।
नेपाल आयल निगमभित्रका भ्रष्टाचार, चुहावट, मनलागी कर्मचारी भर्ना, खरिदबिक्रीमा हुने अनियमितता र बेथिति अन्त्य गर्नुको साटो पटक पटक मूल्यवृद्धि गरिएको क्रान्तिकारीको ठहर छ ।
‘अन्तर्राष्ट्रिय बजारको हवाला दिँदै भइरहेको पटक पटकको मूल्यवृद्धि अब किमार्थ सह्य छैन’, विज्ञप्तिमा उल्लेख छ ।
क्रान्तिकारीले पेट्रोल, डिजेल, मट्टीतेल, ग्यासलगायत पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको हो ।
मूल्यवृद्धि फिर्ता नलिए सडकमा उत्रिने चेतावनीसमेत दिइएको छ । नियमले गए रातिदेखि लागु हुनेगरि पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँले बढाएको छ । ग्यासमा प्रतिसिलिण्डर दुई सय रुपैयाँ बढाइएको छ ।
मूल्यवृद्धिको विरोधमा सडकमा ओइरिने चेतावनी दिइए पनि आजको जुलुसमा मुश्किलले एक दर्जनको सहभागिता थियो ।
टिप्पणीहरू