जिल्ला नेतृत्व छान्न चितवनमा गोलाप्रथा हुने
चितवनमा जिल्ला समन्वय समिति (जिसस)को प्रमुख र उपप्रमुख चयन गोलाप्रथामार्फत हुने भएको छ । पाँचदलीय गठबन्धन र एमालेसँग बराबर मतदाता हुने भएपछि गोलाप्रथाबाट जिसस टुंगो लाग्ने भएको हो ।
जिसस प्रमुख र उपप्रमुखको निर्वाचनमा पालिका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षले मतदान गर्न पाउँछन् । चितवनमा सात पालिकाका १४ जना मतदाता छन् । त्यस हिसाबले जिसस जित्न कम्तिमा आठ मत ल्याउनु पर्ने हुन्छ ।
पाँचदलीय गठबन्धनले तीन पालिका प्रमुख र दुई उपप्रमुख जितिसकेको छ । भरतपुर महानगरको प्रमुख र उपप्रमुख पनि जित्ने पक्का भइसकेको छ । अहिले भरतपुर महानगरपालिकाको मतगणना भइरहेको छ । मत गन्न बाँकी रहेका भरतपुरका तीन वटै वडाको सबै मत एमाले–राप्रपाले पाए पनि जित्ने सम्भावना टरेको छ ।
यससँगै जिससको निर्वाचनका लागि गठबन्धनसँग सात भोटमात्रै हुनेछ । एमालेको पनि सात भोट छ । एमालेले तीन पालिका प्रमुख र चार उपप्रमुख जितेको छ । जिसस जित्न गठबन्धन वा एमाले कुनै एउटा पक्षले अर्को पक्षको एक भोट आफूतिर तान्नुपर्ने अवस्था छ । यदि त्यसो नभए गोला टिपाएर छिनोफानो गर्नुपर्ने हुन्छ ।
पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सकिएपछि मात्रै जिससको निर्वाचन हुने जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । जिससको निर्वाचनमा बराबर मत आए गोलाप्रथाबाट प्रमुख र उपप्रमुख निर्वाचित हुने उनले बताए ।
टिप्पणीहरू