कमल थापाले दिनेश थपलियासङ्ग गाई माग्ने
राजतन्त्रको मुद्दा त्यागेर राप्रपा नेपाल ब्युँताएका कमल थापाले गाई चुनाव चिन्ह दिन निर्वाचन आयोगसँग फेरि एकचोटी आग्रह गर्ने भएका छन् । उनको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राख्दै आयोगसँग पार्टीको पुरानै ‘गाई’ चुनाव चिन्ह माग्ने निर्णय गरेको हो ।
बैठकले हिन्दू राष्ट्र पुनर्स्थापनार्थ जनजागरण ल्याउन आगामी असार महिनामा राष्ट्रव्यापी सनातन धर्म सम्मेलन गर्ने निर्णयसमेत गरेको छ । पार्टीले ‘तीर’ सहितको झण्डा सगरमाथाको शिखरमा फहराउने साहसी पर्वतारोही पासाङ्ग शेर्पालाई तत्कालीन राप्रपा नेपालका महामन्त्री एवं संसदीय दलका नेता स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा स्थापित एक लाख रुपैयाँ नगदसहितको ‘चन्द्र स्मृति विशिष्ट प्रतिभा पुरस्कार’ द्वारा पुरस्कृत गर्ने निर्णय पनि गरेको छ ।
आगामी संसदीय निर्वाचनबाट राप्रपा नेपाललाई राष्ट्रिय मान्यताप्राप्त दल बनाउने उद्देश्य रहेकोले पार्टीलाई सशक्त रुपमा संगठित गर्ने निर्णय बैठकको छ । त्यसका लागि भदौको तेस्रो साताभित्र देशको सम्पूर्ण पालिकाहरुका वडामा ईकाई समिति गठन गर्ने र यसमा आवश्यक संख्यामा स्वयंसेवी कार्यकर्ताहरुलाई प्रशिक्षण दिई ७५३ वटै पालिकामा परिचालित गरिने राप्रपाको निर्णय छ ।
त्यसैगरी जेठ महिनाभित्र सातवटै प्रदेश (विराटनगर,जनकपुर,हेटौंडा, पोखरा,बुटवल,सुर्खेत र धनगढी) मा प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न गर्ने राप्रपाले जनाएको छ ।
टिप्पणीहरू