बढेको पेट्रोलियम पदार्थको भाउ घटाउन सकिँदैन : मन्त्री बडू

बढेको पेट्रोलियम पदार्थको भाउ घटाउन सकिँदैन : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाउ भनेर निर्देशन दिनसक्ने अवस्था नरहेको बताउनुभएको छ ।

आज १५ वटा विद्यार्थी संगठनका अगुवाहरुले संयुक्त रुपमा बुझाएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको मागसहितको ध्यानाकर्षणपत्र बुझ्दै उहाँले उक्त कुरा भन्नुभएको हो । निगम मासिक छ अर्ब ७१ करोड रुपैयाँ घाटामा रहेकाले पेट्रोलियम पदार्थको मूल्य घटाउन भन्न नसकिने उहाँको भनाइ हो ।

निगमले अहिले पनि पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ६४ पैसा, डिजेलमा प्रतिलिटर २६ रुपैयाँ ८२ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ८७९ रुपैयाँ ७५ पैसा घाटा व्यहोरेको विवरण मन्त्रीले विद्यार्थी नेताहरुलाई सुनाउनुभएको हो । उहाँले विश्वबजार र निगमको अवस्थालाई ध्यानमा राखेर केही विकल्प दिनु सरकारको दायित्व भएको बताए पनि भाउ घटाउने कुरो गर्नुभएको छैन ।

पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउनेबारे मन्त्रिपरिषद्मा प्रस्ताव पुगे पनि निर्णय नभएको उहाँले उल्लेख गर्नुभएको हो । भारत सीमानाका सहर र नेपालतर्फ पेट्रोलियम पदार्थको मूल्यमा रहेको असमानतालाई समायोजन गरिने कुरो मात्र मन्त्रीले भन्नुभएको विद्यार्थी संगठनका नेताहरुले जानकारी दिए ।

टिप्पणीहरू