अख्तियारमाथि उजुरीको सूचना दिन आलटाल गरेकाे आरोप
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिद्वारा प्राध्यापक पदको दुरुपयोग गरेको उजुरीको सूचना दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आलटाल गरेको आरोप लागेको छ ।
निवेदकले पटक पटक आयोगलाई प्रतिष्ठानका उपकुलपतिले प्राध्यापकको पद दरुपयोग गरेको उजुरीको सूचना दिन आग्रह गर्दा आयोग बेखबर बनेको दाबी आरोप लगाएका हुन् । शशि विक्रम कार्कीले आयोगमा सूचना उपलब्ध गराउन लिखित माग गर्दा पनि कुनै जानकारी नपाएको गुनासो गरेका छन् ।
उनले उपकुलपतिले पदको दुरुपयोग गरेको सम्बन्धमा परेको उजुरीको कारवाहीको पछिल्लो अवस्थाको पूर्ण विवरण उपलब्ध गराउन आयोगलाई दुई पटकसम्म प्रमाणसहित उजुरी दिँदा पनि आयोगले बेवास्ता गरेको उनको निवेदनमा उल्लेख छ ।
‘यस विषयमा २०७८ असार ११ गते र पुष २९ गते दुई पटक प्राध्यापक पदको दुरुपयोग गरेको प्रमाणसहित उजुरी गरेको थिएँ । उक्त निवेदन आयोगमा पनि दर्ता भएको छ । आयोगबाट कुनै कारवाही अगाडि नबढेपछि सोही विषयमा मैले पुनः तेस्रो पटक सूचना माग गरेको अवगत गराउन चाहन्छु,’ निवेदनमा भनिएको छ ।
उपकुलपतिले प्राध्यापक पदको दुरुपयोग गरेका पर्याप्त प्रमाणहरु प्रमुख सञ्चार माध्यमबाट प्रकाशन, प्रसारण भइसकेको र निवेदकले प्रमाणसहित उजुरी गर्दा पनि आयोग मौन बसेको उनको आरोप हो ।
आयोगले के कति कारणले कानुनबमोजिम कारवाही अगाडि बढाउन ढिला गरेको हो, ढिला हुनुको कारण खुलाई आयोगका प्रमुख आयुक्तले सूचना अधिकारी मार्फत् बुँदागत रुपमा लिखित जानकारी गराउन कार्कीले आग्रह गरेका छन् ।
प्रतिष्ठानका उपकुलपति प्रा.डा.राजकुमार रौनियार आठ लाख घुस लिएको आरेपमा २०७६ असार २६ मा उपकुलपति निवासबाटै पक्राउ परेका थिए ।
आयोगको टोलीले उजुरीका आधारमा उनको निवासमा खानतलासी गर्दा रौनियारले प्रतिष्ठानको होस्टेल तथा फार्मेसी भवन निर्माण ठेक्का लिने श्याम सुन्दर निर्माण सेवा प्रालिको सब कन्ट्याक्टर गिना कन्स्ट्रक्सन प्रालिका प्रबन्धनिर्देशक सुशीलकुमार झासँग आठ लाख रुपैयाँ घुस लिई प्रतिष्ठानमै हाउस अफिसरका रुपमा कार्यरत आफ्ना भतिज डा. रामहरि रौनियारलाई ए ५ ब्लकमा राख्न पठाइसकेको अवस्थामा फेला पारेपछि दुवैलाई पक्राउ गरेको थियो ।

टिप्पणीहरू