अबदेखि भरतपुरमा जन्मेका छोरीहरुको लगत्तै १ लाखको बीमा
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महानगरमा जन्मिने छोरीहरूको जन्मिनेबित्तिकै एक लाख रुपैयाँको जीवन बीमा गर्ने घोषणा गरेकी छन् । दोस्रो कार्यकालको निम्ति महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि आज पदभार ग्रहण गर्दै उनले यस्तो घोषणा गरेकी हुन् ।
उनले महानगरबासीलाई महिनामा सात हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराउने घोषणा पनि गरिन् । करिब ५२ प्रतिशत ग्राहक लाभान्वित हुनेगरि सात हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकको महशुल छुट गरिदिने र महानगरले खानेपानीको सहजीकरण गर्ने योजना रहेको दाहालले बताइन् ।
आगामी आर्थिक वर्षबाट यी निर्णय कार्यान्वयन भएपछि महिनामा सात हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई कुनै शुल्क नलाग्ने भएको छ ।
मेयर दाहालले अबको दुई वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्मका सबै जनतामा खानेपानीको पहुँच पुर्याउने प्रतिबद्धता पनि गरेकी छन् । अहिले गरेका यी तीन वटा निर्णयबाट महानगरवासी लाभान्वित हुने उनको विश्वास छ ।
टिप्पणीहरू