बहुमत पार्टीले आन्दोलन गर्ने

बहुमत पार्टीले आन्दोलन गर्ने

नेकपा (बहुमत) ले राष्ट्रियता, जनतन्त्र र जनजीविकासम्बन्धी मुद्दाहरूलाई लिएर संघर्षका कार्यक्रम थाल्ने निर्णय गरेको छ । नेत्रविक्रम चन्द विप्लवलाई कारवाही गरि हालै मात्र गठन भएको बहुमत पार्टीको केन्द्रीय महाधिवेशन आयोजक समितिको दोस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टीका संयोजक धर्मेन्द्र बास्तोला कञ्चनको अध्यक्षतामा गत शुक्रबारदेखि अस्तिसम्म बनेपामा बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै प्रवक्ता हेमन्तप्रकाश वली सुदर्शनले जनयुद्ध दिवसको अवसर पारेर नवौँ राष्ट्रिय महाधिवेशन गर्ने र त्यसअघि बृहत कम्युनिष्ट कार्यगत एकताका लागि पहल थाल्ने बताएका छन् ।

बैठकले पार्टीको न्यूनतम कार्यक्रम, कार्यदिशा र आगामी कार्यभारका विषयमा महत्वपूर्ण निर्णय गरेको जनाइएको छ । जसअनुसार पार्टीले लिएको नयाँ रणनीति र कार्यनीतिको बारेमा व्युरोस्तरीय कार्यकर्ता प्रशिक्षण गर्ने र नियमित रुपमा मालेमावादी स्कुलिङ्ग सञ्चालन गर्ने उल्लेख छ ।

त्यस्तै, पार्टीको न्यूनतम कार्यक्रम जनवादी क्रान्तिको कार्यभारसहितको वैज्ञानिक समाजवाद हुने र एकीकृत जनयुद्ध कार्यदिशा रहने भनिएको छ । उसले स्वाधीन संयुक्त सरकारलाई कार्यनीति मान्ने निर्णय गरेको छ ।’कार्यनीतिक कार्यक्रम संसदीय व्यवस्थाको अन्त्य, राजनीतिक स्थिरता, सामाजिक रूपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता जस्ता विषयमा समग्र पार्टीपंक्ति तथा जनपंक्तिलाई स्पष्ट पार्न व्युरोस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, पार्टीका विचारहरूलाई आमसञ्चार माध्यमहरूबाट प्रसारण गर्ने निर्णय गरिएको छ’, प्रवक्ता सुदर्शनले भनेका छन् ।

बहुमत पार्टीले सरकार र तत्कालीन विप्लव नेतृत्वको नेकपाबीच भएको तीनबुँदे सहमति कार्यान्वयनका लागि सरकारसँग वार्ता गर्न प्रवक्ता सुदर्शनको नेतृत्वमा उदयबहादुर चलाउने दीपक, गुणराज लोहनी र देवकला अधिकारी रहेको वार्ता टोली तथा संवाद समिति गठन पनि गरेको छ । यहि बैठकले केन्द्रीय सदस्य सुदर्शनलाई प्रवक्तामा चयन गरेको जनाइएको छ ।

टिप्पणीहरू