अमेरिकी उपविदेशमन्त्री घर पुगेपछि बल्ल एमाले अध्यक्ष आक्रोशित
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी बैठकमा अमेरिकाको धुवाँधार विरोध गर्नुभएको छ । उहाँले हिजो संसद भवनमा आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अमेरिकी सरकार र हालै नेपाल भ्रमणमा आएकी उपविदेशमन्त्री उज्रा जियाका गतिविधिको निन्दा गर्नुभएको हो ।
गत शुक्रवार काठमाडौं ओर्लेकी जिया आइतबार राति पौने ८ बजे दुबई हुँदै वासिङ्गटन फर्केकी छन् । उनी अमेरिका पुगेपछि बल्ल ओलीले उनको भ्रमणबारे हिजो मुख खोल्नुभएको हो ।
नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकारसम्बन्धी उपविदेशमन्त्री तथा तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजक जियाले झण्डै ६० घण्टा काठमाडौंमा रहँदा ३० घण्टाभन्दा बढी तिब्बती शरणार्थी शिविर, दलाई लामाका सांसद र तिब्बती शरणार्थीसँग सम्बन्धित विद्यालयलगायतका व्यक्ति र निकायसँग भेटघाट र भ्रमण गरेकी थिइन् । उनले नेपाल आउनुअघि भारतको तीन दिने भ्रमणको क्रममा पनि धर्मशाला पुगेर दलाई लामासँग भेट गरिन् ।
यता काठमाडौंमा भएको उनको निर्वाध तिब्बती शरणार्थीहरुसँगको भेटघाटलाई अध्यक्ष ओलीले नेपाल सरकारले गरेको मार्ग प्रशस्तका रुपमा अर्थ्याउनुभएको हो । उहाँले जियालाई तिब्बती शरणार्थी शिविरमा जान दिइएको भन्दै सरकारको रवैयाप्रति आपत्ति जनाउनुभएको छ । हिजोको बैठकमा उहाँले राख्नुभएको धारणा उद्धृत गर्दै स्रोतले भन्यो, ‘कुनै पनि देशकाविरुद्ध नेपाली भूमि प्रयोग गर्न दिनु गलत भयो ।’
टिप्पणीहरू