हिजो अन्तर्घातले आज धाँदलीले

हिजो अन्तर्घातले आज धाँदलीले

एमाले अध्यक्ष खडगप्रसाद शर्मा ओलीले सत्ता गठबन्धनले धाँदली गरेर चुनाव जितेको आरोप लगाउनुभएको छ । आज संघीय संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले सरकारमा रहेका दलले धाँदली गरेर एमालेलाई हराएको दाबी गर्नुभएको हो ।

ओलीले सत्ता गठबन्धले भोट पाउनकै लागि मतदाता अपहरण र हत्या गरेको गम्भीर आरोपसमेत लगाउनु भयो । परिणाम आफ्नो पक्षमा पार्न गठबन्धनका दलहरुले उम्मेदवारलाई थुन्ने र अपहरण गर्नेसम्मका काम गरेको पनि उहाँले दाबी गर्नुभयो ।

‘सत्तामा बसेर निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गराउने दायित्व सरकारको हुन्छ । तर सरकार नै जसरी हुन्छ चुनाव जित्ने ध्यानले निर्वाचनलाई अमर्यादित बनाउने काममा लाग्यो’, ओलीको आरोप छ ।

ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नाम उल्लेख नगरी भन्नुभयो, ‘एकजना गठबन्धनका शीर्ष नेताले ६४ सालमा जसरी चुनाव जित्न पर्छ भनेर कार्यकर्तालाई निर्वाचनमा लाग्न दिएको निर्देशनले नै चुनाव कसरी सम्पन्न भयो त्यो छर्लंग भएको छ ।’

पार्टीभित्रको अन्तर्घातले पार्टी पराजित भएको प्रतिक्रिया दिएको २४ घण्टा नबित्दै ओलीले धाँदली भएको बताउनुभएको हो । हिजोमात्रै उहाँले पार्टी पराजयको मुख्य कारण अन्तर्घात भन्नुभएको थियो ।

टिप्पणीहरू