सेनापति बनाउन सट्याकसुटुक

सेनापति बनाउन सट्याकसुटुक

एउटा प्रधानसेनापति आफूले मात्रै सो दर्जाको फुली लगाएका हुँदैनन्, आफूपछिका सक्दो बढी उत्तराधिकारी तयार पारिरहेका हुन्छन् । अहिले पनि नेपाली सेनामा त्यही कसरत चलिरहेको छ ।

संसदको सार्वजनिक लेखा समितिमा जर्नेल मधुकरजंग कार्कीमाथि खरिद प्रकरणमा घोटाला भएकोबारे छानवीन चलिरहेको छ । उनी कानुनविपरित अमेरिकास्थित नेपाली राजदूतको आवास खरिद प्रकरणमा मुछिएका हुन् । तर, गत शुक्रबार दिउँसो १२ बजे मुख्यसचिव शंकरदास बैरागीलाई सिंहदरबारमा भेटेर प्रधानसेनापति प्रभुराम शर्माचाहिँ उनैलाई भावी प्रधानसेनापतिका रुपमा तयार पार्दैछन् ।

०५८ जेठ १९ को दरबार हत्याकाण्डका बेला तत्कालिन अधिराजकुमार निराजनका एडिसी थिए मधुकर । उक्त हत्याकाण्डपछि सुन्दरप्रताप राना, राजु कार्की, गजेन्द्र बोहोरालगायत दरबारका सारा एडिसीलाई बर्खास्त गर्ने ज्ञानेन्द्रले यिनैलाई आफ्नो अंगरक्षक बनाए । स्वदेशी तालिमहरूको मापदण्ड पूरा नगर्दै दरबारबाट सीधै बेलायतको स्याण्डहस्र्ट पठाए ।

अहिले वासिङ्गटनको आवास खरिद प्रकरणमा मुछिए पनि अहिलेसम्म उनलाई सेनाभित्र त्यति सोधखोज गरिएको छैन । नत्र, मोबाइलको एसएमएस आदानप्रदान र इँटा, सिमेण्टी, बालुवाका खरिद काण्ड लागेर थुप्रै अफिसरले जागिर त्याग्नुपरेका घटना छन् जबकि नियम, कानुन मिचेर राज्यकोषको करोडौं रकममाथि खेलबाड गर्दासम्म मधुकर अहिलेसम्म त्यस्तो झमेलामा परेका छैनन् ।

दरबारबाट आएका गजेन्द्र लिम्बू र बिनोज बस्न्यातलाई बीचैमा बिदा गरियो । पूर्वचिफ राजेन्द्र क्षत्रीका भाइ रतिन्द्रको त्यही हालत भयो । मधुकरलाई चाहिँ स्वदेशको कु्नै तालिम नलिए पनि चिफ हुने लाइनमा राखेर एनडिसी कोर्ष गर्न भारत पठाइँदै छ । यसरी नेपाली सेनामा हालका चिफ प्रभुरामपछि २५ बेसिकका ताराध्वज पाण्डे या अशोक सिग्देल र त्यसपछि मधुकर या सन्तोषबल्लभ पौडेललाई चिफ बनाउने तयारी चल्दै छ ।

मधुकरलाई एनडिसी छनोटको वरियता सूचीको अन्तिम नम्बरमा राखिएको छ । त्योचाहिँ छनौट समितिको चाहनाअनुसार भएको होइन । तर, दर्जागत आधारमा अन्तिम नम्बरमा भए पनि छिर्नुपर्ने सैनिक प्रचलनअनुसार उनी परे । जनताका छोराछोरीको हकमा स्वदेश तालिम नगरी विदेशमा तालिम गर्न पाइँदैन । प्रधानसेनापति भएर घर गएका गौरवसमशेर राणा आफैंले कोर्श गरेको स्याण्डहस्र्टबाट तालिम लिएका मधुकरलाई ३० बेसिकको भएर पनि २७ कालाई टप्ने गरी माथि तानेका हुन् ।

उनले आफ्नो कार्यकालमा जुनियर बेसिकलाई फास्टट्रयाक बढुवा चलाइदिँदा धेरैका जागिर र जीवनमा चोट पुग्यो । तर, अहिले भने आफ्नो बेसिकबाहेक अरुलाई नजित्ने सिष्टम बनाइएको छ । अघिल्ला प्रधानसेनापति पूर्णचन्द्र थापाले समेत ६–७ बेसिकसम्मलाई जित्न सक्ने गरी माधव थापाहरूलाई उकासेका थिए ।

उता, प्रमुख सेनानीबाट महासेनानीमा पदोन्नत भइसक्नुपर्ने हरिशरण अधिकारी अहिलेसम्म तल्लो दर्जामै खुम्चिएका छन् । कारण हो, श्रीमती थप्नु । बहुविवाह, आर्थिक अपचलनजस्ता मुद्दा भनेको सेनाका निम्ति पदोन्नतिबाट बञ्चित हुनेदेखि सेवाबाट बर्खास्त हुनेसम्मका हतियार मानिन्छन् । यो सेना आफैँले बनाएको नियम हो, सरकारले थोपरेको हैन ।

तर, संसदको सार्वजनिक लेखा समितिले छानबिन गर्दागर्दै पनि मधुकरको बढुवा रोकिएन । थुप्रै जर्नेलको जागिर उडाउने कठोर प्रधानसेनापति पूर्णचन्द्र थापालाई मधुकरको बढुवा गर्न कसरी बाध्य पारियो ? यो खोजीको विषय बनेको छ । उनी अहिलेसम्म जगदलबाहेक गुल्म र गणपति नबसेका र अमेरिकाबाट फर्कनासाथ १८ बाहिनी उदयपुर पठाइएका अफिसर हुन् । बरु, बास्केटबलका राम्रा खेलाडी मानिन्छन् ।

टिप्पणीहरू