ललितपुरको हरिहरभवनमा भनियो ‘नवराज विकलाई शहिद घोषणा गरियोस्’
रुकुम पश्चिमको सोतीमा मारिएका नवराज विकसहित छ जनालाई शहिद घोषणा गर्न माग गरिएको छ । उक्त माग गर्दै आज नेपाल राष्ट्रिय दलित समाजका अध्यक्ष त्रिलोचन विकलगायत दश जनाले ललितपुरको हरिहरभवनमा उक्त माग गरेका हुन् ।
उनीहरुले राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरलाई ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका छन् । उक्त नरसंहारकारी सामूहिक हत्याकाण्डमा सरकारका जिम्मेवार निकायले घटनास्थलको भ्रमण नगर्नु दलित समुदायमाथिको अपमान भएको उनीहरुको आरोप छ ।
दलित समाजका अध्यक्ष विकले हत्या हिंसा, बलात्कार, छुवाछुतलगायत सबै खालका घटनामा सरकारको विरोध गर्दै आएको बताउँदै दोषीलाई कारबाही गर्न माग गरेका छन् । साथै, उनले नरसंहारकारी सामूहिक हत्याकाण्डका पीडितहरुलाई तत्काल न्याय दिन सरकारलाई आग्रह गरेका छन् ।
उक्त घटनाले नेपालको संविधान, विभिन्न ऐन तथा मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्रलाई समेत ठाडै चुनौती दिएको उनीहरुको ठहर छ ।
टिप्पणीहरू