बाजुराका सिडिओ, प्रहरी र सशस्त्रको टिमलाई तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन
गत वैशाख ३० गते भएको स्थानीय तहको मतदान कार्यमा जिल्लाका सिडिओ, नेपाल प्रहरीका डीएसपी र सशस्त्र प्रहरी बलका एसपीले सुरक्षा व्यवस्थापनमा गम्भीर लापरवाही गरेकालाई उनीहरुलाई तीन दिनभित्र जिम्मेवारीबाट हटाउन सरकारलाई निर्देशन दिएको छ ।
सिडिओ उपेन्द्रराज पौड्याल, प्रहरीका डीएसपी चतुर्भुज ओझा तथा सशस्त्र प्रहरीका एसपी दिपक विष्टलाई हटाउन निर्देशन दिइएको हो । उनीहरुले निर्वाचनको दिन सुरक्षा व्यवस्थापनमा गम्भीर लापरवाही गरेको, निर्वाचनको स्वच्छता र निष्पक्षतामा आँच आउने कार्य गरेकाले तीन दिनभित्र हटाएर अरु कर्मचारीलाई खटाउन गृह मन्त्रालयलाई आदेश दिइएको हो ।
जिल्लाको बुढीगंगा नगरपालिकाको निर्वाचन पुनः गराउने निर्णय गर्दै आयोगले यसअघिको सम्पूर्ण मतदान रद्द गर्ने भनेको छ । आयोगले सो कार्यको निम्ति यथाशीघ्र अर्को मतदान मिति र समय तोक्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने समेत निर्णय गरेको छ ।
टिप्पणीहरू