अमेरिकाको गन कल्चर : सय जनामा ८९ जनाको हत्या गोली प्रहारबाट

अमेरिकाको गन कल्चर : सय जनामा ८९ जनाको हत्या गोली प्रहारबाट

अमेरिकी नागरिकहरू जताततै बन्दुक बोकेर हिँड्छन् । झोलामा हतियार थन्क्याउने र बोक्ने चलनलाई उनीहरू आफ्नो संस्कृति ठान्छन् ।

पछिल्लो समय युवाहरू भीडभाड भुलेर स्कूलदेखि बजारसम्म बन्दुक पड्काइरहेका छन् । दशकौंदेखि बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गर्दा दशौं हजारले ज्यान गुमाएका छन् ।

अमेरिकी ‘गन कल्चर’ को इतिहास करिब २३० वर्ष पुरानो छ । सन् १७९१ मा संविधानको दोस्रो संशोधनले अमेरिकी नागरिकलाई हतियार किन्न सक्ने पूर्ण अधिकार दियो । त्योबेला अमेरिकी नागरिक ब्रिटिशहरुको पैतलामुनि पेलिएर बाँचेको अवस्थाबाट मुक्ति पाउन उक्त रणनीति बनाइएको जानकारहरू बताउँछन् ।

अमेरिकी नागरिक आफ्नो र परिवारको रक्षाका निम्ति हतियार किन्थे । ब्रिटिश शासकको अत्याचारबाट उम्किन प्रतिरक्षाका लागि हतियार थप्दै जाँदा अन्ततः अमेरिका ‘गन कल्चर’ को दलदलमा फस्यो । हिजोआज प्रायः युवाहरू गनबिना हिँड्दैनन् । उनीहरू हातमा मोबाइल बोकेझैँ आधुनिक हतियार बोक्छन् ।

‘गन कल्चर’ को सुरुवात हुँदा अमेरिकामा स्थायी सुरक्षा बल थिएन । तर त्यो ‘गन कल्चर’ को कानुन आज पनि उत्तिकै रहेको अधिकारीहरू बताउँछन् ।

अमेरिकामा बन्दुक किन्नु र तरकारी तथा फलफूल किन्नु उस्तै हो । बन्दुक बेच्ने कैयौं स–साना पसल खोलिएका छन् । अमेरिकी वालमार्टजस्तो ठूला कम्पनीदेखि फुटपाथका दोकानमा पनि बन्दुक किन्न पाइन्छ । यहाँका विभिन्न सहरमा कहिलेकाहीँ बन्दुक प्रदर्शन समेत गरिन्छ ।

अमेरिकी नागरिक जो–कोहीले पनि बन्दुक किन्न सक्छन् । हतियारको खुल्ला कारोबार भइरहेको गाउँदेखि शहरसम्म कहिँकतै सुरक्षा चेकजाँच गरिँदैन । तर खरिदकर्ताले किन्नुअघि आफ्नो नाम, ठेगाना र जन्म मिति पेश गर्नुपर्छ ।

अमेरिकामा बसोबास गर्ने १० प्रतिशत एसियाली मूलका अमेरिकी नागरिकहरू आफैँले बन्दुक किनेका छन् । सन् २०२० को एक सर्वेक्षणअनुसार ४४ प्रतिशत अमेरिकी युवाको घरमा हतियार छ । तीमध्ये एक तिहाई युवा जमात आफैँ बन्दुक बोक्छन् ।

अमेरिकासहित ग्वाटेमाला र मेक्सिकोमा बन्दुक बोक्न संवैधानिक अधिकार प्रदान गरिएको छ । तर अमेरिकाको तुलनामा ग्वाटेमाला र मेक्सिकोमा निकै कम हतियार छन् । मेक्सिकोमा एउटा मात्रै ‘गन स्टोर’ छ ।

अमेरिकामा अन्धाधुन्द गोली प्रहार गर्दा पछिल्लो ५० वर्षयता १५ लाखभन्दा बढी निर्दोष नागरिकले ज्यान गुमाएका छन् । अमेरिका स्वतन्त्र भएपछिका सबै युद्धमा मारिएका सैनिकभन्दा धेरै मानिस घातक ‘गन कल्चर’ बाट मारिएका छन् । रिपोर्टअनुसार अमेरिकामा ७९ प्रतिशत नागरिकको हत्या बन्दुकबाट भएको छ ।

टिप्पणीहरू