ओलीविरुद्ध बोलेको भन्दै एमाले सांसदहरु जर्याकजुरुक, संसद बैठक बिथोलियो
प्रमुख प्रतिपक्षी दलका नेता खडगप्रसाद ओलीले हिजो रोष्टममा बसेर बोलेका कुरा आज सरकारका एक मन्त्रीले उठेर खण्डन गरेपछि प्रतिनिधिसभा बैठक बिथोलिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विषयमा ओलीको अभिव्यक्तिमाथि आपत्ति जनाएपछि एमालेका सांसदहरुले बैठक अवरुद्ध पारेका हुन् ।
एमालेका सांसदहरूले उठेर नियमापत्ति जनाउँदै मन्त्रीले माफी माग्नुपर्ने माग गरेका छन् । सांसद खगराज अधिकारीले नियमापत्ति जनाउँदै मन्त्रीको भनाइ संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए । त्यसपछि सभामुख अग्नि सापकोटाले मन्त्री बडूलाई आफ्नो भनाइ राख्न भनेपछि एमाले सांसदहरुले उठेर विरोध गरेका थिए ।
प्रतिनिधिसभाको आजको बैठक सुरू हुनासाथ उद्योगमन्त्रीले सार्वजनिक महत्वको विषयमा बोल्न समय पाउनुभएको थियो । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विषयमा उठेका प्रश्नको जवाफ दिन रोष्टममा उभिनुभएका बडूले हिजोको बैठकमा प्रमुख विपक्षी दलका नेताले आधारहीन आरोप लगाएको बताउनुभएको थियो ।
ओलीको अभिव्यक्तिलाई अराजनीतिक, भ्रामक र खेदजनक भनेर उहाँले आपत्ति प्रकट गरेपछि आक्रोशित एमाले सांसदहरू नियमापत्ति गर्दै जर्याकजुरुक उठेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।
टिप्पणीहरू