‘भालु’ रोजेका उम्मेदवारलाई मतदाताले रोजेनन्
देशकै सबैभन्दा धेरै मतदाता रहेको काठमाडौँ महानगरको मेयरका लागि चुनावी मैदानमा उत्रिएका एक उम्मेदवारले शून्य भोट पाएका छन् । भालु चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका चावहिल, मित्रपार्कका रोशन शाहीले एक भोट पनि ल्याउन नसकेका हुन् ।
झण्डै तीन लाख मतदाता रहेको काठमाडौँ महानगरमा वैशाख ३० गते सम्पन्न स्थानीय चुनावमा एक लाख ९० हजार ९६२ मत खसेको थियो । कूल मतको ६३ प्रतिशत मतदान भएकोमा ८४ प्रतिशत मत सदर हुँदा भालु चिन्हका शाही शून्य भएका हुन् ।
शाहीजस्तै राजधानी शहरको मेयर बनेर स्थानीय सत्ताको नेतृत्वमा पुग्न चुनावी प्रतिस्पर्धामा होमिएका ५३ जनामध्ये ५० जनाले जमानत जोगाउनै सकेनन् । जसमध्ये ३९ जना तीन अंकमा भोट ल्याउन समेत असफल रहे ।
भुईंकटहर चुनाव चिन्ह लिएर मेयरको दौडमा रहेका राजन कार्कीले जम्मा १ भोट पाए भने भ्यागुतो चिन्हका मनिष श्रेष्ठले २ मत पाएका छन् । बिरालो चिन्हका जेठा महर्जन र कंगारुका विपिनराज वैद्यले समान ३ भोट ल्याउँदा फ्रक चिन्हका शैलेन्द्रमान श्रेष्ठ र जोडी गमबुटका राजितमान शाक्यले समान ४ भोट पाएका छन् ।
खसीको टाउको चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका आनन्दराज जोशीले ११, दापसहितको खुकुरी चिन्हका सुरज श्रेष्ठले १४, कार चिन्हका काजीलाल जोशीले १५ र साँचो चिन्हका प्रियरत्न महर्जनले १६ मत पाएका छन् ।
स्वतन्त्रले मात्र होइन यसपटक अधिकांश राजनीतिक दलका उम्मेदवारले पनि काठमाडौँमा लज्जाजनक मत पाएका छन् । चुनावअघि निकै चर्चा गरिएका राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले जमानत जोगाउन सकेनन् । ख्यातिप्राप्त कलाकारसमेत रहेका उनको हलोमा जम्मा पाँच हजार ७७० मत परेको छ ।
अघिल्लो चुनावमा काठमाडौँमा उत्साहजनक मत ल्याएर राष्ट्रिय राजनीतिमा एकाएक उदाएको विवेकशील साझा पार्टीकी उम्मेदवार समीक्षा बास्कोटाले यसपटक लाजमर्दो परिणाम व्यहोर्नुपर्यो । विवेकशीलको तराजुमा जम्मा छ हजार ४७ भोट परेको हो ।
नजिकैको भक्तपुर नगरपालिकामा एकछत्र शासन गरेको नेमकिपाले पनि काठमाडौँमा गणना गर्न लायक भोट ल्याउन सकेन । नेमकिपाका उम्मेदवार सुरेन्द्र महर्जनको मादलमा जम्मा १६५ भोट परेको छ ।
त्यस्तै, निर्वाचन आयोगमा दर्ता भएका तर, राजनीतिक गतिविधिमा खासै नदेखिएका साना पार्टीहरुको पनि काठमाडौँमा कन्तबिजोग भएको छ । मौलिक जरोकिलो पार्टीका मनोजराज आचार्यले जम्मा ४१ भोट पाएका छन् भने नेपाल समावेशी पार्टीका रामबहादुर खड्काले २४ मत ल्याएका छन् ।
आमुल परिवर्तन पार्टीका रुपा सुवालले ५१, नेवाः राष्ट्रिय पार्टीका विजय प्रकाश सैजुले ५४, नेपाल जनता पार्टीका सरिता घिमिरेले २१, मंगोल नेशनल अर्गनाइजेसनका सिता तामाङले ३०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुरज श्रेष्ठले १४, आधुनिक नेपाल समाजवादी पार्टीका सुरेशरत्न बज्राचार्यले २८ मत पाए ।
काठमाडौं महानगरपालिकाको मेयरमा विजयी बालेन्द्र साहले ६१ हजार ७६७ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत पाइन् । तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ३८ हजार ११७ भोट पाएका छन् । यी तीन जनाको मात्रै जमानत जफत हुनबाट जोगिएको हो ।
टिप्पणीहरू