एमालेमा पसेर को फसे, कसलाई फसाए
‘वल्लो घरको नरे पल्लो घरमा सरे, बङ्लङ्ग लडे’ भन्ने उखानलाई कपिलवस्तुको कृष्णनगरमा मेयर विजेता रजतप्रताप शाहले गलत सावित गरिदिएका छन् । उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट जितेका थिए । यसपटक कांग्रेसबाट जितेपछि यो उखान गलत भएको हो । नगरपालिकाको गेटैअगाडि फोहोरको डुंगुर थुप्रिँदा पनि नगन्हाउने शाहलाई जनताले मजा चखाउने हल्ला थियो ।
तर, उनले नै कांग्रेसबाट टिकट लिएर आए । अघिल्लो कार्यकाल विकास नगरेका, व्यवस्थापकीय क्षमता पटक्कै नदेखिएका शाह हार्ने सबैको अनुमान थियो । उनले यसपटक जित्ने कारणमध्ये मेयरमा ३२ जना उम्मेदवारहरूले च्याँखे दाउ थाप्नु एउटा हो । सो नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी, एमाले र माओवादी केन्द्रको राम्रो प्रभाव र भोट भए पनि ती सबै विभाजित भएका कारण शाहलाई सहज भएको बताइन्छ । शाहले कांग्रेस समर्थक र उनकै मौजामा बसोबास गर्दै आइरहेका भोटरको मतले विजय हासिल गरेका हुन् ।
उनले मौजामा बसोबास गर्नेहरूलाई हारेँ भने उठिबास लगाउँछु भनेर धम्क्याएकाले गरिब र प्रभावमा पर्ने मतदाताले मत खसालेको बताइन्छ । कपिलवस्तु जिल्लाका १० पालिकामध्ये तौलिहवा नगरपालिका विकास निर्माण कम भएको पालिका हो । अघिल्लो पटक एक जना मुसलमान थरका सहयोगीको भरमा अड्डा चलाएका उनलाई स्वतन्त्रबाट कांग्रेसमा प्रवेश गराउने मुख्य भूमिका भने अभिषेकप्रताप शाहले निर्वाह गरेका थिए ।
अर्कोतर्फ एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेसलगायत विभिन्न प्रदेशबाट तामझामसाथ पार्टी प्रवेश गराएका नेताहरू प्रायः सबैले पराजय भोगेका छन् । कपिलवस्तु तौलिहवामा बृजेश गुप्ताका भतिज डा. राजेश गुप्ता, वीरगञ्जका पूर्व मेयर विजय सरावगी, नेपालगञ्जका पशुपतिदयाल मिश्रलगायतले हारेका हुन् ।
मधेसको राजनीतिमा घरिघरि चर्चामा आइरहने बृजेशकुमारले २०७४ मा सूर्य चिह्न लिएर जितेका थिए । यसपल्ट भने केपी ओलीले भव्य समारोह आयोजना गरेर एमाले नै बनाए । राजनीतिक संस्कारको अभाव देखिएका बृजेशले जातीय तथा एमाले समर्थक भोटको आधारमा जित्ने रणनीति बनाएका थिए । सो रणनीतिअनुरुप सदरमुकाम रहेको तौलिहवा नगरपालिकाको मेयरमा भतिज नाता पर्ने डा.राजेशलाई उठाए । गुप्ताले मेरो बलले भतिजोले चुनाव जित्छ, भतिजाको बलले मैले माननीय जित्छु भन्ने सोच राखेका रहेछन् ।
तर, नतिजाअनुसार डा. गुप्ताले पराजय भोग्नुपरेको छ । पराजित डा. गुप्ता बुटवलको आम्दा अस्पतालमा बिरामीलाई बेहोस बनाउने एनेस्थेसियन हुन् । सो नगरपालिकामा उम्मेदवारी दर्ता गर्न एक दिने एमाले छोडेर जनता समाजवादी पार्टी प्रवेश गरेका सुदीप पौडेलले मेयर जितेका छन् । उनी बृजेश गुप्ताकै पार्टीबाट पहिला १ नम्बर वडाको अध्यक्ष भएका र उनीसँगै एमाले प्रवेश गरेका थिए ।
पौडेलले एमालेबाट मेयरको टिकटको आशा गरेका थिए । तर, गुप्ताले भतिजलाई अघि सारेपछि उनले बृजेशको साथ छोडे । वैशाख ११ गतेसम्म पनि कांग्रेसबाट टिकट लिने दाउमा रहेका उनलाई कांग्रेसले उपमेयरको उम्मेदवार बनाउने भयो । तर, पौडेल १२ गते जनता समाजवादी पार्टीबाट टिकट लिएर मेयर बन्न सफल भए । ढुंगा, गिट्टी, बालुवाको ठेक्कापट्टा गर्ने, पैसावाला पौडेलको बोली मीठो भएको र सरकारी निकायसँग पनि राम्रै पहुँच भएकाले चुनाव जितेको बताइन्छ । तराईमा प्रहरी, प्रशासनलगायत अन्य विकासे अड्डाका हाकिमसँग हिमचिम हुनेको राजनीतिमा निकै राम्रो दबदबा रहने गर्छ ।
सोही पदका प्रत्यासी एमालेहरू किन हारे ?
एमालेका मान्छे किन हारे भन्दा विकासका नाममा तीन काम गरे । ऐरेगैरे नत्थुखैरे भनेजस्तै खोलामा सलामी खाने, पिर्का, टेबल, कुर्सी, डेस्कमाथि बसेर पनि सलामी खाने नेताहरूले सलामी खाने भनेको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, गृह र रक्षामन्त्रीसहित फौजीले मात्रै हो भन्ने कुरा बुझ्न सकेनन् ।
यही कुरा जनतालाई मन परेन । अनावश्यक सानातिना कर थोपरे, सालको पातमा पनि कर लगाएर जनतामाथि ज्यादती गरे । विकासका गफ दिए र लुटे । डाँडामा भ्यूटावर, गेट र मन्दिर मात्रै बनाए । यसले उचित प्रतिफल दिन सकेन । विकासको नाममा भएका यी बेथितिले गर्दा भ्रष्टाचार गर्न सजिलो भयो । नेताहरूले कर्मचारी सरुवा– बढुवामा पैसा खाने, दलालमार्फत काम चलाउने अर्काे भूल गरे यस्ता अंगरक्षक केका लागि ?
प्रहरीलाई व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ)को रुपमा खटाउने मापदण्डविपरीत कतिपयले नेताहरूलाई अनावश्यक बडीगार्ड दिएको पाइएको छ । कपिलवस्तुका ईश्वरदयाल मिश्रले पर्सनल सेक्युरिटी अफिसर लिएर गाउँ–गाउँमा रवाफ देखाउँदै हिँडेपछि यस्तो पाइएको हो । स्रोतका अनुसार २०–२५ वर्षअघि रासन ठेकेदारको काम गर्ने मिश्र एकपटक मन्त्रीसमेत भएका थिए । त्यसैगरी, रामविलास चौधरी पनि पीएसओ लिएर गाउँघर डुल्दै छन् ।
उनी आपराधिक पृष्ठभूमिका व्यक्ति भएको जानकारहरूले बताए । उनले ०७५ सालमा ठूलै वितण्डा मच्चाउँदा तत्कालीन प्रहरी प्रशासनले मुद्दा दायर गर्न भने सकेन । त्यसबेला माओवादी नेताको रुपमा रहेका चौधरीलाई प्रचण्डलगायतको दबाबमा मुद्दा चलाउन रोकिएको बताइन्छ । अहिले उनी एमालेमा छन् । आपराधिक पृष्ठभूमि भएका मान्छेलाई प्रहरीले नै सुरक्षा दिएर हिँड्नुपरेपछि पीएसओको हुर्मत निस्किएको छ ।
त्यसैगरी, कृष्णनगरमा भर्खरै मेयर जितेका रजतप्रताप शाह, एक जना वडाध्यक्ष, क्रिकेट खेलाडी फैजल खानले पनि बर्दीधारी सुरक्षाकर्मी लिएका छन् । यी सबै पीएसओ अहिले खोसिए पनि पुनः राख्न स्थानीय प्रशासनलाई दबाब परेको बताइन्छ । जबकि गृहमन्त्रीबाट पदमुक्त हुनेले समेत पीएसओ पाउन हम्मेहम्मे पर्छ । यस्तो बेला शाह, मिश्र, खानहरूलाई केका आधारमा पीएसओ दिइयो भन्ने प्रश्न उठेको छ ।
प्रभाव र पहुँचका आधारमा उपलब्ध गराइएका पीएसओले प्रहरीको हुर्मत लिनुका साथै तिनका कारण गाउँका सामान्य मानिसमा नकारात्मक प्रभाव पर्ने जानकारहरूले बताएका छन् । उनीहरूका अनुसार तराईको गाउँमा प्रहरीको सुरक्षा लिएर हिँड्ने भनेपछि उसको ‘रुतवा’ निकै माथि हुने गर्छ । राज्यले अनावश्यक रुपमा व्यक्तिको प्रभाव बढाउन सहयोग पुग्ने गरी पीएसओ खटाउने कार्यमाथि पुनर्विचार हुनुपर्ने गृहका सहसचिवहरू बताउँछन् ।
टिप्पणीहरू