जति बल गर्दा पनि अन्तिम एक वडाको खेल
निर्वाचन हुनु हप्ता दिन पहिले मात्रै होटल ग्रान्ड पोखरामा अमेरिका, जापानलगायत विदेशबाट फर्केका फेदिखोले बरालहरुले एउटा प्रतिज्ञा गरे,जसरी भएपनि घनश्याम सुवेदीलाई ढलाउने । २०७४ मै पालिका अध्यक्षको दावी गरेका लक्ष्मीप्रसाद बरालले नपाएपनि २३ पौष ०७८ मा सम्पन्न नेकपा एमाले स्याङ्जा जिल्ला अधिवेशनबाट भने जिल्ला कमिटी सदस्यमा निर्वाचित भए ।
जिल्ला सदस्यमा आएका बरालले पुन गाउँपालिकाको टिकट दावी गरे । तर पार्टीले एकपटक २०७४ कै अध्यक्ष घनश्याम सुवेदीलाई नै दोहोर्याउने छनक प्रष्ट भएपछि बराल कांग्रेस प्रवेश गरी टिकट हात पारे । पुसमा एमाले नेता बनेका बराललाई चैतको अन्तिमतिर एमालेले कारबाही गर्यो । कूल पूजामा जम्मा भएका बराल परिवारले कूलकै प्रतिष्ठाको विषय भएकोले एमाले भए पनि लक्ष्मीप्रसाद बराललाई भोट हाल्नुपर्ने ह्विप जारी भो ।
फेदिखोला गाउँपालिकामा एमाले इन्चार्ज थिए पुष्पराज बराल, लक्ष्मीप्रसादका आफ्नै दाइ। सुवेदी अर्कै पार्टीका मान्छे भएपनि आफ्नै भाइ अध्यक्षको प्रत्यासी भइरहँदा असहयोग गर्ने कुरा भएन । पाँचदलीय गठबन्धन छँदैछ ।
त्यसमा पनि एमालेका पालिका हस्ती बरालतिर फर्केपछि सुवेदीलगायत एमाले उम्मेदवार पराजित हुन कुनै आइतवार थिएन । एमालेको चुनावी रणनीति मात्रै हैन बैठकको माइन्युटसमेत कांग्रेस उम्मेदवारकोमा पुग्नथाल्यो । पाँचवटा वडा भएको फेदिखोलाको चारवटा वडा गन्दासमेत घनश्याम लामै अन्तरले पछाडि थिए । गठबन्धन दल एमालेभन्दा पनि घनश्याम ढल्ने भयो भनेर ढुक्क थिए ।
सात सयभन्दा बढी एमालेको मत कांग्रेसका लक्ष्मीप्रसाद सुवेदीलाई परेपनि अन्तिममा गन्न बाँकी १ नम्बर वडाको मतले १ सय ३२ मतान्तरबाट सुवेदीले बराललाई पराजित गरे । सुवेदीले ३ हजार ८३६ मत प्राप्त गर्दा बरालले ३ हजार ७०४ ल्याए ।
उपमेयरमा एमालेकै देवीकुमारी गुरुङले माओवादीका शिवप्रसाद पराजुलीलाई १५ सय ९९ मतले हराइन् । पराजुलीको २३ सय ७९ मत ल्याउँदा गुरुङले ३९७८ प्राप्त गरेकी थिइन् । तिनै सुवेदीले ०७४ को स्थानीय निर्वाचनमा कांग्रेसका तारापति सुवेदीलाई भने २ हजार ४६ मतले पराजित गरेका थिए । सुवेदीले ३८ सय ६ मत प्राप्त गर्दा पराजित अर्का सुवेदीले १७ सय साठी मात्र पाएका थिए ।
उता,पार्टी केन्द्रीय सचिव तथा गण्डकी प्रदेश सचिव पद्मा अर्यालको जोडबलमा गल्याङ नगरपालिकाको मेयर प्रत्यासी बनेका नेकपा एमालेका स्याङ्जा अध्यक्ष सूर्यप्रसाद गैह्रे पारस ६९९ मतले पराजित भए । अघिल्लो निर्वाचन्मा एमालेले मेयर,उपमेयरसहित बहुमत जितेको गल्याङमा एमालेले प्रमुख,उपप्रमुख दुवै गुमायो ।
०७४ मा एमालेका भुपराज अधिकारीसंग कांग्रेसका लालगोपाल अर्याल २३ सय ६ मतले पराजित भएको गल्याङमा एमालेका अहिले अध्यक्ष नै पराजित हुन पुगे । उपमेयरमा भने जम्मा ६३ मतले कांग्रेसकी हेमा न्यौपानेले एमालेकी देवीसरा थापालाई पराजित गरेकी थिइन् ।
लाजमर्दो कुरा त एमाले सचिव पद्ममा अर्यालका श्रीमान लक्ष्मीपति पौडेल ५ सयको अन्तरले २६ बर्षे ठिटो सम्भव अर्यालसंग वालिङ नगरपालिकाको वडा सदस्यमै पराजित भए। जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुख बनाउने योजना त्यसै तुषारापात भयो । पद्मा यस्तै कारणले पनि स्याङ्जामा निकै आलोचित छिन् । पद्माका पति सदस्यमा पराजित भएपनि वालिङ नगरपालिकामा एमालेका मेयरले विजय हासिल गरे ।
चर्चित मेयर दिलीपप्रताप खाँणलाई एमालेका कृष्ण खाँणले २१ सय ८३ मतको अन्तरले पराजित गरे । उपमेयरमा भने कांग्रेसकी कविता तिवारीले एमालेकी खगिसरा थापा मगरलाई ४८२ मतले पराजित गरिन् । ११ स्थानीय निकाय रहेको स्याङ्जामा वालिङ,आँधीखोला,कालीगण्डकी, फेदिखोला,बिरुवा,हरिनास गरी छ स्थानीय निकायमा एमाले विजयी भएको छ भने बाँकीमा गठबन्धनले विजय प्राप्त गरेको छ ।
-अञ्जनकुमार
टिप्पणीहरू