सशस्त्रका एसएसीपीको बढुवा सूचना किन उडाइयो वेवसाइटबाट ?

सशस्त्रका एसएसीपीको बढुवा सूचना किन उडाइयो वेवसाइटबाट ?

लामो समयदेखि कर्मचारी सरुवा र बढुवानिम्ति निकै आलोचना खेप्ने गरेको सशस्त्र प्रहरी बलभित्र अबदेखि केही सुधार हुने अपेक्षा राखिएकै बखत यौटा यस्तै सूचना वेवसाइटबाटै गायब भएको छ । सशस्त्रमा एउटा समूह सँधै आफ्नो हात माथि पारेर स्वार्थी काम गर्न उद्दत रहँदै आएको छ । पछिल्लो समयमा पनि उक्त समूह फेरि सल्बलाउन थालेको हो ।

सशस्त्र प्रहरीको कामु एसएसपीमा बढुवा भएकाहरु धेरै जनाको अवधि पुगेको छ । अब उनीहरुलाई कन्फर्म गर्ने बेला भएकाले अनेक खेल शुरु भएको हो । सशस्त्र प्रहरी बलको कर्मचारी नयाँ नियमावलीमा त्यस्ता अवधि पुगेकालाई कसरी कन्फर्म गर्ने भन्नेबारे केही पनि उल्लेख नभएकाले अप्ठेरो परेको बताइन्छ । पुरानो नियमावलीमा त्यसबारे उल्लेख भए पनि नयाँमा किन छुटाइयो भन्नेबारे अनेक अड्कल लाग्ने गरेको छ ।

नयाँ नियमावली जारी गर्ने बेलाका ठूलाबडा सबै अवकास लिएर घर गएका छन् । अहिले त्यस्ता एसपीको सूचना निकालेर बढुवा गर्ने कि, अन्य कुनै तरिकाले गर्ने भन्नेबारे अनेक चर्चा भएपछि सशस्त्रमा छलफल अघि बढाइएको स्रोतले दाबी गरेको छ ।

‘कसैले वरिष्ठताको आधारमा बढुवा गर्ने भनेका छन्,कसैले आफ्नै खालको कुरा राखेका छन् । त्यसैले विवाद नआउने तरिकाले प्रक्रिया अघि बढाउन कानुनी सल्लाह थालिएको छ,’ उच्च स्रोतले बतायो ।

तर कानुनी सल्लाह लिँदा पनि एउटाले एउटा कुरो र अर्कोले अर्कै कुरो गरेपछि उच्च व्यवस्थापनलाई अप्ठेरो परेको हो । एक जना वरिष्ठ अधिकृतले भने, ‘के गर्ने भन्नेबारे ठोस निर्णय भएको छैन ।’

तर बढुवाको प्रक्रिया सम्बन्धी सूचना वेवसाइटमा राखेर सार्वजनिक गरेपछि हटाइएको भन्नेबारे कसैले मुख खोल्न चाहेको देखिएन ।

अर्कोतर्फ नयाँ प्रमुखको नियुक्तीपछि जारी भएको १० बुँदे निर्देशनलाई संगठनको पिँधमा रहेकाहरुले सकारात्मक रुपमा लिएको पाइएको छ । नातावाद, कृपावादले आकाश छोएको सशस्त्रमा अब त्यस्तो हुँदैन कि भन्ने आशा पलाएको उनीहरुको भनाइ हो ।

यसअघिका तीन हप्ते प्रमुख पुष्पराम केसीले समेत तल परेका भनिएका आफ्ना मान्छेलाई तानेर माथिल्लो ठाउँमा सेटिङ गराई अवकासमा गएको भन्ने आरोपसमेत लागेको छ ।

टिप्पणीहरू