काठमाडौंमा छउन्जेल चुप,अमेरिका पुगेपछि उफ् !
गत साता अमेरिकी उपविदेशमन्त्रीले काठमाडौंस्थित तिब्बती शरणार्थी शिविरमा गरेको भेटघाट र अन्तरक्रियावारे प्रमुख प्रतिपक्षी दलका नेताले बल्ल मुख खोलेका छन् । अघिल्लो शुक्रबार काठमाडौं उत्रेर आइतवार स्वदेश फर्किनु अघिसम्म उपविदेशमन्त्री उज्रा जिया र उनको चार सदस्यीय टोलीले तिब्बती शरणार्थी शिविरमा चरणबध्द भेटघाट गर्दा पनि नेपालका राजनीतिक दल र तिनका नेताले केही बोल्ने आवश्यकता देखेका थिएनन् ।
तर अहिले अमेरिकाको तिब्बत मामिलासम्बन्धी विशेष संयोजकसमेत रहेकी जिया स्वदेश फर्केपछि गत बिहीवार बल्ल एमाले र हिजो नेकपा विप्लव समूहले विरोध जनाएका हुन् ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले अमेरिकी उपविदेशमन्त्री तिब्बती शरणार्थी शिविर शिविरमा जानुले कूटनीतिक मर्यादा उल्लंघन भएको बताउनुभएको छ । उक्त कार्यले नेपालको राष्ट्रिय स्वाधीनता कमजोर पारेको भन्दै घोर आपत्ति जनाइएको नेकपाले जानकारी गराएको छ ।
अस्ति एमाले अध्यक्ष केपी शर्मा ओलीले जिया गएको भन्दा पनि नेपाल सरकारले उहाँलाई शरणार्थी शिविरमा जान दिएकोमा चाहिँ चर्को निन्दा गर्नुभएको थियो ।
टिप्पणीहरू