अफिम पन्छाउँदै अघि बढ्यो प्रहरी
-अमृत बास्कुने
प्रहरीले म्याग्दीको पश्चिम भेगका विभिन्न ठाउँ गरी झन्डै १५ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती पछिल्लो २० दिनमा नष्ट पारेको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर राजन ढकालका अनुसार जिल्लाका विभिन्न तीन स्थानमा गरी १५ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको हो । इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको टोलीले बैशाख २२ गते मालिका गाउँपालिका–५ गाईखर्कको सार्वजनिक जग्गामा लगाइएको ५ रोपनी क्षेत्रफलको अफिम नष्ट गरेको थियो ।
त्यसैगरी, बैशाख २७ गते मालिका गाउँपालिका–४ छिसनेरीको ५ रोपनी क्षेत्रफलमा लगाइएको अफिम इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सागर पन्तको नेतृत्वमा गएको टोलीले नष्ट गरेको थियो ।
इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी सहायक निरीक्षक बलबहादुर खड्कासहित चार जना,प्रहरी चौकी बाबियाचौरबाट २ जना र तातोपानीबाट २ जना गरी ८ जनाको संयुक्त टोलीले पछिल्लो समय गत बिहीबार बिहान अफिम खेती नष्ट गरेको इन्स्पेक्टर ढकालले बताए ।
उनका अनुसार मंगला गाउँपालिका–५ अर्मनको चांगामा करिब ५ रोपनी क्षेत्रफलमा लगाएको अफिम खेती प्रहरीको अगुवाईमा नष्ट गरिएको छ । प्रहरीले लागुऔषधविरुद्धको अभियानअन्तर्गत पश्चिम म्याग्दीका ती स्थानमा लगाइएको अफिम खेती नास गरेको हो ।
टिप्पणीहरू