विमान दुर्घटनास्थल पत्ता लागेन, भोलि बिहान सबेरैबाट खोजिने
आज बिहान पोखराबाट जोमसोमतर्फ जाँदै गरेको तारा एअरको विमानको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन । बिहान ९ बजेर ५५ मिनेटमा उडेको हवाईजहाज बढीमा १७ मिनेटमा जोमसोम पुग्नुपर्ने थियो । तर, आठ घण्टासम्म पनि अवस्था पत्ता लाग्न नसकेपछि खोजी कार्यलाई भोलि बिहानबाट निरन्तरता दिइने बताइएको छ ।
विमान दुर्घटना भएको भनिएको स्थान नजिकै पुगे पनि सेना, पर्वतारोही शेर्पा, प्रहरी र हेलिकप्टर टोलीले दुर्घटनाको कुनै पनि अवशेष फेला पार्न सकेका छैनन् । आज बिहान सेनाको हेलिकप्टरमा त्यसतर्फ गएको सेनाको उद्धार टोलीलाई पैदल हिँडेर सुरक्षित स्थानमा बास बस्न निर्देशन दिइएको छ ।
मुस्ताङको विकट पहाडी क्षेत्र कोबाङ पुगेको पर्वतारोही शेर्पाहरुको उद्धार टोली पनि कोबाङबाट थासाङ पुगेर बास बस्ने भएको हो ।
सेनाको हेलिकप्टरमा गएको टोली र हेलिकप्टरलाई कोबाङबाट जोमसोम जान भनिएको छ । त्यसैगरी खोजी र उद्धारमा पोखराबाट त्यसतर्फ गएको दुई वटा हेलिकप्टरलाई पनि भर्खरै पोखरा फर्काइएको छ ।
बाक्लो कुहिरो र बादलका कारण दुर्घटनास्थल पुग्न नसकिएको बताइएको छ । कोबाङबाट नजिकै दुर्घटना भएको अनुमान गरिए पनि प्रतिकूल मौसमका कारण हेलिकप्टर र पैदलबाट उद्धार गर्न नसकिएको सैनिक स्रोतले बताएको छ ।
जहाजमा १९ जना यात्रुसहित चालक दलका तीन जना गरेर २२ जना सवार थिए ।
टिप्पणीहरू