सामल सिद्धिँदै गएपछि तातो लाग्न थाल्यो

सामल सिद्धिँदै गएपछि तातो लाग्न थाल्यो

मुलुकमा खाद्य संकट आउन नदिन र त्यसको पूर्वतयारी गर्न छ वटा किसान संगठनले नेपाल सरकारसँग माग गरेका छन् । बदलिएको विश्व परिस्थितिलाई मध्यनजर गर्दै किसान संगठनहरुले नेपालबाट अत्यावश्यक खाद्यान्न र खाद्यपदार्थहरुको निर्यात तत्काल रोक्न माग गरेका हुन् ।

आज अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल प्रगतिशील किसान संघ र अखिल नेपाल किसान युनियनले विज्ञप्ति जारी गरेका हुन् ।‘विगत लामो समयदेखि मलखाद र बिउबिजनको समस्या झेलिरहेका किसानलाई तत्काल मलखाद र बिउबिजन उपलब्ध गराउन, उक्त समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्ने गरी कार्यक्रम तर्जुमा गरी लागु गर्न माग गर्दैछौ,’ विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, किसान संगठनहरुले देशभरका किसान र आमजनताको दैनिक जीवनमा गम्भीर प्रभाव पार्नेगरि भएको पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि तत्काल फिर्ता लिन र जनतालाई राहत प्रदान गर्न भनेका छन् ।

कोरोना महामारीसँगै मुद्रास्फिती, चर्को व्याजदर, खाने तेललगायतका खाद्यवस्तुको चरम मूल्यवृद्धि भएकाले बहुसंख्यक किसान तथा आमजनसमुदायको दैनिकी चलाउनैमा समस्या आएको संगठनहरुको ठहर छ । उनीहरुले पेट्रोलियम पदार्थमा कर घटाइ आमनागरिकको दैनिक जीवनयापनमा सहजीकरण गर्न पनि जोड दिएका छन् ।

टिप्पणीहरू