बालकोटबाट दुईतिर प्रधानमन्त्रीको अफर
एमाले अध्यक्ष केपी शर्माको हवाला दिँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफर दिइएको खबरले राजनीतिक माहौल फेरि तातेको छ । स्थानीय तहको निर्वाचनमा भएको पराजयलाई अहिलेसम्म स्वीकार्न नसकेको एमाले नेतृत्वले बजेट भाषणलगत्तै अन्य दलका नेतालाई प्रधानमन्त्रीको अफर दिनु आफैँमा अचम्मको विषय बनेको खुमलटार र कोटेश्वर निकट स्रोतले बताएको छ ।
स्थानीय तहको निर्वाचनमा दुई तिहाई पालिकामा विजयी हुने र आगामी प्रदेश तथा संसदीय निर्वाचनमा स्पष्ट बहुमत ल्याउने उद्घोष गर्दै आउनुभएका एमाले अध्यक्ष केपी शर्मा ओली र उहाँका अति विश्वासपात्रहरु यसबीच उग्र भाषण गर्न केही हच्किनुभएको छ । भलै गत बिहीबार संसद बैठकमा ओलीले तीन घण्टासम्म आफू र आफ्नो दलबाहेक अरुलाई छारष्ट गर्न बाँकी राख्नुभएन ।
नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत पाँच दलबीच भएको चुनावी तालमेलका कारण एमालेले विगतको तुलनामा झण्डै एक सय पालिकाको नेतृत्व गुमाएको छ । हिजो चुनावी उद्देश्यले ओतप्रोत बजेट सार्वजनिक गरिएको छ । आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनले पुनः तालमेल गरेर चुनाव लड्ने भएपछि एमाले अध्यक्ष ओली र नेतृत्वले फुटाऊ र राज गरको सिद्धान्त अंगाल्दै प्रचण्ड र नेपाललाई प्रधानमन्त्रीको अफर गरेको अनुमान केहीले लगाएका छन् ।
शनिवारको संसद बैठकमा स्वयम् माओवादी अध्यक्ष दाहालले अध्यक्ष ओलीलाई स्पष्ट भाषामा पुनः प्रधानमन्त्री बनेर देखाउन खुल्ला चुनौती दिनुभएको थियो । उहाँले ओलीलाई पहिलो पटक र दोस्रो पटक प्रधानमन्त्री हुँदाको आधारवारे निधार खुम्चाएर सोच्न र वास्तविकता नबिर्सन आग्रह गर्नुभएको हो ।
त्यसअघि अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबाहेक संसदमा रहेका अरु सबै दल र समूहसँग एकता र कार्यगत एकता गर्न सकिने धारणा राख्नुभएको थियो । उक्त प्रस्ताव २४ घण्टा नबित्दै फलदायी नभएपछि उहाँले आगामी निर्वाचनसम्म वर्तमान गठबन्धन सरकारलाई टिक्न नदिने र चुनावमा तालमेल गर्न नदिने आशयले प्रधानमन्त्रीको अफर फाल्नुभएको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ ।
टिप्पणीहरू