नेताहरुले बुझेर होला कि नबुझेरै होला यस्तो भनेको ?

नेताहरुले बुझेर होला कि नबुझेरै होला यस्तो भनेको ?

हिजो अपरान्ह संसदको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को वार्षिक आयव्ययको अनुमानित विवरण प्रस्तुत गर्नुभयो । बोलिचालीको भाषामा बजेट भाषण भनिने उक्त विवरणमा सामाजिक सुरक्षा भत्ता पाउने सर्वसाधारणको उमेरको सीमा दुई वर्षले घटाइएको छ ।

७० वर्ष कायम हुँदै आएको उक्त भत्ताको निम्ति आगामी वर्षदेखि ६८ वर्ष कायम गरिएको छ । सर्वसाधारण नेपालीको औसत उमेर बढेकाले बुढ्यौली हुने उमेर पनि स्वतः बढ्नुपर्ने हो । तर,हाम्रो सन्दर्भमा निजामती कर्मचारीले अवकासको उमेरलाई तन्काएर माथि पुर्याउन खोजिरहेको अवस्था एकातिर छ । अर्कोतिर बुढ्यौली हुने उमेर घटाएर तल झारिएको छ ।

२७ वर्षअघि पहिलो कम्युनिष्ट सरकारका प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा प्रति महिना एक सय रुपैयाँ प्रदान गरेर सामाजिक सुरक्षा भत्ताको सुरुवात गरिएको थियो । अहिले रकम बढेर चार हजार प्रति महिना पुगेको छ भने उमेर घटेर ६८ वर्ष कायम भएको छ ।

“निजामती कर्मचारीले अवकासको उमेरलाई तन्काएर माथि पुर्याउन खोजिरहेको अवस्था एकातिर छ । अर्कोतिर बुढ्यौली हुने उमेर घटाएर तल झारिएको छ ।”

हिजै साँझ संसद बैठकमा बोल्दै जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले बृद्धभत्ता अथवा सामाजिक भत्ता नलिने बताउनुभएको छ । उहाँको मनबाटै त्यो कुरा आएको हो भने उहाँले पूर्वप्रधानमन्त्रीको हैसियतले अन्य महँगा र महत्वपूर्ण सुविधा लिइराख्नु भएको छ कि छैन ?भन्ने प्रश्न उठ्छ।

त्यस्तो सुविधा लिइराख्नु भएको छ भने बृद्धभत्ता वापतको मासिक चार हजार रुपैयाँ लिन्नँ भनेर संसदमा बोल्नुको औचित्य देखिन्न । अर्कोतर्फ सरकारी सुविधा दोहोरो लिन पनि पाईंदैन । यति सामान्य हेक्का पनि नराखेर सर्वसाधारणको वाहवाही बटुल्ने प्रयोजनको लागि बोल्ने प्रवृत्ति कत्तिको हानिकारक छ अरुलाई पनि हेरौं ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले राज्यलाई सबै सम्पत्ति दिएको बताउँदै आउनुभएको छ । तर, उहाँले भक्तपुरमा बस्दै आउनुभएको एउटै कम्पाउण्डभित्रको दुई वटा घर,बैंक ब्यालेन्स र अन्य सम्पत्ति कहिले र कहाँ दिनुभयो भन्नेबारे केही खुलाउनुभएको छैन । हालसम्म उपचारको निम्ति १७ करोड रुपैयाँ बुझ्नुभएको, पूर्वप्रधानमन्त्री तथा विपक्षी दलको नेताको हैसियतले पाउनेभन्दा बढी सुविधा अर्थात टोयोटा सवा दुई करोड दरका दुइटा टोयोटा ल्याण्ड क्रुजर जीपसमेत विना निर्णय लिएको तर एकोहोरो आफूले राज्यलाई श्रीसम्पत्ति सबै दिएको बताउनुले पनि सर्वसाधारण चकित बनेका हुन् ।

टिप्पणीहरू