कोरियाबाट फर्केकालाई कोरियाली सहयोग

कोरियाबाट फर्केकालाई कोरियाली सहयोग

दक्षिण कोरिया सरकारले कोरियाबाट फर्केका नेपाली श्रमिकहरुको क्षमता अभिवृद्धि लगायतका कार्यमा सहयोग गर्ने भएको छ । त्यसको निम्ति कोरियाले ९६ कराड रुपैयाँ अनुदान उपलब्ध गराउने सहमति जनाएको छ ।

श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का नेपाल देशीय निर्देशक सुङ हुन कोबीच हिजो भएको शिष्टाचार भेटवार्तामा उक्त सहमति भएको हो । ईपिएसमार्फत् कोरिया गएर फर्किएका नेपालीहरुको लागि सञ्चालन हुने परियोजनाका साथै नेपाल र दक्षिण कोरिया सरकारबीचको सम्भावित साझेदारीका विषयमा विचारविमर्श भएको मन्त्रालयले जनाएको छ ।

ईपिएसमार्फत कोरिया गई फर्किएका नेपालीहरुको लागि सञ्चालन हुने परियोजनामा कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले करिब ९६ करोड रुपैयाँ सहयोग प्रदान गर्न लागेको हो । उक्त रकम सम्बद्ध सरकारी निकायको क्षमता अभिवृद्धि, पुनःएकीकरणसम्बन्धी सूचनामा पहुँच, कोरियाबाट फर्केका नेपालीहरुको उद्यमशीलतासम्बन्धी क्षमता अभिवृद्धि र वित्तीय पहुँचमा खर्च हुनेछ ।

कोरियामा ६५ हजारभन्दा बढी नेपाली श्रमिकहरु ईपीएसमार्फत गएका छन् । उनीहरू स्वदेश फर्किएपछि पुनःएकीकरण र सीपमूलक तालिमका लागि कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले सहयोग उपलब्ध गराउन लागेको हो । आगामी आर्थिक वर्ष सात वटै प्रदेशमा सीप विकास तालिम प्रतिष्ठान सञ्चालन गर्ने सरकारको योजना छ ।

दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीबाट करारअवधि सकिएर फर्किएका कामदारलाई पुनः एकीकरण तालिम सञ्चालन गर्न पहिलो चरणमा गण्डकी, बागमती,लुम्बिनीमा पूर्वाधार निर्माण गर्दैछ ।

टिप्पणीहरू