बजेट : एकथरिको आँखामा ‘क्रान्तिकारी छलाङ’, अर्काथरिको नजरमा ‘घोषणापत्र’

बजेट : एकथरिको आँखामा ‘क्रान्तिकारी छलाङ’, अर्काथरिको नजरमा ‘घोषणापत्र’

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको बजेट रकममा ३२ प्रतिशतले वृद्धि हुनु क्रान्तिकारी छलाङ भएको बताउनुभएको छ । आज प्रतिनिधिसभाको बैठकमा बजेटमाथि छलफल गर्दै उहाँले यस पटकको बजेट उत्कृष्ट भएको उल्लेख गर्दै उक्त विशेषण थप्नुभएको हो ।

उहाँले कृषिको आधुनिकीकरण, वैज्ञानिकीकरण गर्दै उत्पादन वृद्धिको कुरा बजेटमा समेटिएको दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘कृषि क्षेत्रलाई वैज्ञानिकीकरण गर्ने, कृषि क्षेत्रको उत्पादन वृद्धि गर्ने जस्ता कुराहरु यो बजेटमा समेटिएका छन् । त्यो आफैंमा एउटा नयाँ विषय हो । यसले संरचनागत परिवर्तनको दिशा पक्रेको छ ।’

उहाँले कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्ने र व्यवसायीकरण गर्दै त्यसको नेतृत्व, दिशानिर्देश गर्ने जिम्मा संघ, प्रदेश र स्थानीय तहले जिम्मा लिने कुरो गर्नु नै नयाँ विषय भएको धारणा राख्नुभएको हो । उता एमाले नेता तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटलाई गठबन्धनको घोषणापत्र जस्तै भएको टिप्पणी गर्नुभएको छ । उहाँले पनि संसदमा बोल्दै बजेट गठबन्धनको घोषणापत्र र चुनावी पर्चा जस्तो भएको टिप्पणी गर्नुभएको हो ।

नेता पौडेलले बजेट संकटपूर्ण बन्दै गएको अर्थतन्त्रलाई ठीक बाटोमा फर्काउन तत्काल चाल्नुपर्ने कदममा केन्द्रित हुनुपर्नेमा त्यसो हुन नसकेको आरोप लगाउनुभयो । उहाँका अनुसार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधनलाई बेवास्ता गरिएको पाइएको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेटले मुलुकले बोक्न नसक्नेगरी आर्थिक दायित्व सिर्जना गरेको भन्दै पौडेलले भन्नुभयो, ‘मंसिरमा प्रतिनिधि सभाको आयु सकिएपछि चुनाव हुनुपर्ने भएकाले वर्तमान सरकार चुनावी सरकार हो । यस्तो सरकारले बिना तयारी दीर्घकालीन प्रकृतिका योजना र कार्यक्रमहरुको चाङ लगाइएको छ । बजेटले बजेटको मर्ममाथि नै प्रहार गरेको छ ।’

टिप्पणीहरू