चुनाव जितेपछि स्कूलमै भोज,मासु–रक्सी खाएर सर्वत्र फोहोर
स्थानीय तहको निर्वाचनबाट भर्खंरै निर्वाचित रोल्पाका एउटा गाउँपालिकाका अध्यक्षले चुनाव जितेको खुशीयालीमा विद्यालयभित्रै भोज–भतेरको आयोजना गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा माओवादी केन्द्रको रोल्पास्थित माडी गाउँ कमिटी सदस्य कर्णबहादुर घर्तीमगर र नवनिर्वाचित गाउँपालिका अध्यक्ष अमरसिंह घर्तीमगर ‘मित्रमणी’ ले चुनाव जितेपछि वडा–१ जवाङको श्रीकृष्ण आधारभूत विद्यालयमा भोज खुवाएका हुन् ।
गाउँपालिका अध्यक्षले स्थानीय माओवादी केन्द्रका कार्यकर्ता, पार्टीनिकट पत्रकार, शिक्षकलाई भेला गराएर विद्यालय परिसरभित्रै मासु–भात र रक्सी बाँडेको भोजमा सहभागी एक शिक्षकले जनाएका छन् ।
निर्वाचित भएको दुई हप्तासम्म पनि माला र अबिर दल्दै गाउँ डुलिरहेका गाउँपालिका अध्यक्ष घर्तीमगरले विद्यालको कक्षाकोठाभित्र मासु–भात र रक्सी खुवाएपछि स्थानीयले जनप्रतिनिधिहरूको चर्को आलोचना गरेका हुन् ।
‘माडीभित्रका गन्नेमान्ने जनप्रतिनिधिहरूले नै बालबालिका बसेर पढ्ने डेस्क–बेञ्चमा भोज खाएको दृश्य लोभलाग्दो देखिएन,’ माओवादी केन्द्रको एक जना जिल्ला कमिटी सदस्यले भने, ‘शासकहरुले यसरी भोज खुवाएको दृश्य फिल्मतिर देख्न पाइन्थ्यो तर अहिले माडी गाउँपालिकामै यस्तो रमिता देखियो । यो बिल्कुल गलत छ ।’
भोज खाएर फर्किएका माओवादीका एक जना कार्यकर्ताका अनुसार कक्षाकोठा र बालबालिका बसेर पढ्ने डेस्क–बेञ्चमा चारैतिर भोजको जुठोले फोहोर देखिन्थ्यो । विद्यालयभित्र भोज खानेहरूले जताततै फोहर गरेपछि अर्को दिनको पठनपाठन पनि प्रभावित भएको विद्यालयका शिक्षकले बताएका छन् । ‘हामीले भनेको मान्दैनन्, गलत काम गर्न तम्सिन्छन्, जनप्रतिनिधि । विद्यालयलाई विद्यार्थी पढाउन प्रयोग गर्नुपर्छ, भोज खानलाई होइन,’ उनले दुःखेसो पोख्दै भने ।
टिप्पणीहरू