हिरोइनलाई पछाडिबाट छोएका भनिएका लामा रिहा
अभिनेत्री मिरुना मगरलाई दुव्र्यवहार गरेको आरोपमा हिजो दिउँसो पक्राउ परेका फूर्वा लामा रिहा भएका छन् । उनलाई कबड्डी ४ की नायिका मगरले राजधानीको एउटा व्यापारिका भवनमा पछाडिबाट शरीर छोएको आरोप लगाउँदै सार्वजनिक स्थलमा चड्कन लगाएकी थिइन् ।
उनकै लिखित उजुरीको आधारमा हिजो साँझ पक्राउ परेका लामा अहिले छुटेका छन् । आज बिहानदेखि राजधानीमा लामाको पक्ष र मगरको विपक्षमा नाराबाजी र आन्दोलन भएपछि लामा छुटेका हुन् । लामाका पक्षधरहरुले मगर अभिनित फिल्म कबड्डी ४ को पोष्टर समेत जलाएका छन् ।
मगरविरुद्ध आज बिहान चाबहिलको केएल टावर अगाडि प्रदर्शन भएको छ । युवाहरुले उक्त फिल्मको पोष्टर जलाउँदै मगरको फिल्म बहिष्कार गर्ने घोषणा गरेका छन् ।
हिजो दिउँसो आफ्नो शरीरमा ब्याड टच गरेका भनिएका लामाको पक्षमा माहौल बन्दै गएपछि मिरुना चुपचाप बसेकी छन् । फिल्म निर्माताहरुले भने मगरको कारण आफूहरुको लगानी डुब्ने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
काठमाडौंका सिडिओ गोविन्दप्रसाद रिजालले लामालाई तीन हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी छुटेका हुन् । अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले लामालाई जिल्ला प्रशासन कार्यालयमा हाजिर गराएको थियो । सिडिओ रिजालको आदेशपछि उनी रिहा भएका हुन् ।
टिप्पणीहरू