उनीहरूको घैँटामा घाम पनि लाग्ला कि ?
फागुन २१ नजिकिँदै गर्दा दलहरू आन्तरिक झमेलामा फसेका छन् । ठूला भनिएका दलहरू आन्तरिक लोकतान्त्रिक अभ्यासको रस्साकस्सीमा छन् । एमाले महाधिवेशनको निर्वाचन परिणामले गर्ने दिशानिर्देशले त्यो पार्टीको गन्तव्य निर्धारण गर्नेछ । लोकतन्त्रमा दलहरूको लोकतान्त्रिकरण जरुरी हुन्छ भने नेतृत्वको समुचित व्यवस्थापन र हस्तान्तरण–पुस्तान्तरण आवश्यक । पुरानो पार्टी कांग्रेसमा पनि उही रोग छ । धन्न, केपी ओलीले झैँ शेरबहादुर देउवाले विधानको व्यवस्था उल्लंघन गर्न खोजेनन् । उनी तेस्रो कार्यकाल नदोहोरिने पक्का छ । तर एमालेभित्र त्यो प्रकरण अहिले नै सुल्झिएन । उल्टै बिधान संशोधन भयो र उही नेतृत्व दोहोरिएको छ । पार्टीभित्र बढ्दै गएको पुस्तान्तरण र हस्तान्तरणको मुद्दा अब कतिञ्जेलसम्म किनारा लाग्ने हो, पत्तो छैन ।
जति नै बल गरे पनि समाजको गति र प्रगतिले नयाँ रुप धारण गर्न छाड्ने छैन र त्यसका अवयवहरूले सबैलाई पछ्याइरहनेछ । लोकतन्त्रमा हरेक चिजको विकल्प हुन्छ । हरेक विकल्पले नयाँपन दिन्छ । नयाँ सोचले राजमार्ग खन्छ र मानिसले अन्ततः त्यही राजमार्गलाई गन्तव्य बनाउँछन् । जेन्जी मुभमेन्टको घोषित माग जे भए पनि मानिसले आफूलाई परिस्कृत गर्न जरुरी हुन्छ । जसरी सवारी साधनको समय–समयमा सर्भिसिङ जरुरी पर्छ । मानव जीवन पनि त्यस्तै हो, जहाँ विचारको ओभरहल गर्नुपर्छ । त्यो मुभमेन्टले भन्यो, तिमीहरू सुध्र, सच्चिऊ, नत्र सक्किनेछौ । त्यसको प्रभाव र असर त पर्यो तर छिटपुट मात्र । दलहरूको रस्साकस्सी त्यही हो, जहाँबाट राजनीतिमाथि अलिकति दबाब छ तर समाजको गति उही छ, प्रगति उही ।
पुराना दलहरूको कथा यही हो तर नयाँहरूको व्यथा पनि त्यस्तै छ । न गन्तव्य, न निर्दिष्ट लक्ष्य । केवल छ, प्रचारको सहारा अनि समाज परिवर्तनको चाहना । रवि लामिछाने जेलमै छन् । सुदन गुरुंगहरू खेलमा । महेश बस्नेतहरूलाई समाजको गतिविरुद्ध आगो ओकल्नै फुर्सद छैन । दलहरू राष्ट्रका प्रतिनिधि मात्र हुन् सबथोक भने होइनन् । मूलभूत रूपमा जनता सर्वेसर्वा हुन् । त्यो नबुझ्ने मानिस न दलको प्रतिनिधि बन्न सक्छ, न देशको शासक । खासमा शासनको भार र प्रशासनको मारमा परेका त जनता छन्, जसले न असल शासक पाए, न प्रशासक । केवल दम्भी र घमण्डी शासकहरू र उनीहरूका आसेपासेहरू पाए । जो कुनै पनि अर्थमा योग्य थिएनन् र छैनन् पनि । उनीहरू त्यही परम्परागत शैलीका बाहकहरू मात्र भए, जहाँबाट देशको मुक्ति सम्भव छैन । कतिपय मानिसलाई लाग्दो हो, म नभए देशै ठप्प हुन्छ । यो आजको विश्व राजनीतिको नयाँ रोग हो । रुसमा पुटिन, चीनमा सि जिनपिङ र भारतमा मोदीले लगातार शासन चलाए भन्दैमा हुन्छ र ? उनीहरूले त देश पनि बनाए नि !
जनतालाई असल नेता चाहिएको हो । सही प्रशासक चाहिएको हो । कसैले देश बनाउँछ भने ऊ जतिपटक आए पनि हुन्छ तर सक्दैन भने घर गए हुन्छ । र, त्यसको सुरुवात जनताले फागुन २१ बाट गर्नेछन्, जसरी जेन्जी मुभमेन्टले दुई तिहाइको शासन ढाल्यो, उसरी नै त्यो दिन दम्भी शासक र उनीहरूको विरासत ढल्नेछ । अब बुलेट होइन, ब्यालेट विद्रोह हुनेछ । शान्त ब्यालेट विद्रोह । फेरि पनि प्रश्न उस्तैगरी तेर्सिन्छ– के फागुन २१ मा चुनाव हुन्छ ? चुनाव गर्नुपर्छ किनभने दिशाहीन राजनीतिको गन्तव्य पहिल्याउन चुनाव चाहिन्छ अनि कमलको पोखरी वरिपरि जमेर बसेको हिलो पखाल्न पनि । त्यो हिलोमाझ फुलेको कमलको फूललाई सुन्दर बनाउन पनि चाहिन्छ चुनाव तर अर्को थप प्रश्न खडा भएर सँगसँगै आउँछ कि उनै फोहोरको डंगुरभित्रबाट कसरी नयाँ गन्तव्य पहिल्याउने ? यो तिनै महाधिवेशनका प्रतिनिधिहरू जो तँछाडमछाड गर्दै भृकुटीमण्डपसम्म आए उनीहरूले जान्ने कुरा हो ।
अनि कांग्रेसमा महाधिवेशनको रटान लगाउने पक्ष वा विपक्षहरूलाई थाहा हुने विषय भयो । वा नेपाली कम्युनिष्ट पार्टी बनाएर पूर्व पश्चिम यात्रा गरिरहेको पार्टीका मानिसहरूलाई लाग्नुपर्ने चिन्ताको विषय हो । अथवा जेलभित्रैबाट राजनीतिको भार बोकिरहेका रवि र सरकारमै बसेर दल चलाइरहेका कुलमानलाई ज्ञात हुने सवाल हो । साथै महानगरबाट सिंहदरबार ताकिरहेका बालेनलाई ज्ञान हुनुपर्ने कुरा हो । अथवा पूर्वी पहाडका जिल्लाहरूमा विगतमा चर्किएको पहिचानको मुद्दा र त्यसको पेरिफेरीमा आफूलाई जवरजस्त उभ्याइरहेका धराने मेयर हर्क साम्पाङ नै किन नहुन् ? एमालेमा ओली नफेर्ने, कांग्रेसमा शेखर कोइरालालाई नहेर्ने र नेकपामा प्रचण्ड र माधवलाई नरोक्ने हो भने फेरि के होला ? उडिरहेको जेट विमानका पाइलटहरू नफेर्ने हो भने उनीहरूले लामो गन्तव्य तय गर्न सक्लान् ? वा उडनतस्तरीझैँ ती जहाजहरू आकाशमै उडिरहलान् ? त्यसरी नै दलतन्त्रले हुकुमी शासन चलाइरहेमा कुनै दिन अर्को विद्रोहलाई मलजल नहोला भन्न सकिन्न ।
यो सवाल पनि तिनै भीडमा हराइरहेका र महाधिवेशनमा लिष्ट खोजी गरिरहने एमाले कार्यकर्ता र माघमा कांग्रेस महाधिवेशनको प्रतीक्षा गरिरहेकाहरूलाई पनि हो । अनि बालकोटको बार्दलीबाट बालुवाटार अनि त्यहाँबाट गुण्डु प्रवासिएका ओली र बूढानीलकण्ठदेखि सिंगापुर हुँदै कार्यवाहक दिएका देउवाहरूको फागुन २१ मा हुनसक्ने सम्भावित मिलनप्रति पनि हो । यी सबै खाले प्रवृत्तिमा खोट नलागेसम्म र कार्यकर्ताको घैँटामा घाम नलागेसम्म केही हुनेवाला छैन । अझ भयानक दुर्घटनाको सामना गर्न तयार हुनुपर्नेछ । हेरौं, यसपटक उनीहरूको घैँटामा घाम लाग्ला कि ?
(जनआस्था साप्ताहिकको पुस २ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू