नेपाली अधिकारीहरु आलु सम्मेलनमा अनुपस्थित

नेपाली अधिकारीहरु आलु सम्मेलनमा अनुपस्थित

प्रायः विश्वका सबैजसो सम्मेलन र बैठकमा हुर्दुराउँदै पुग्ने नेपाली अधिकारीहरु यस पटक एउटा विश्व सम्मेलनमा छुटेका छन् । हिजोदेखि आयरल्याण्डको राजधानी डब्लिनमा भएको ११ औं विश्व आलु सम्मेलनमा विश्वका ६० वटा देशका एक हजारभन्दा बढी प्रतिनिधि सहभागी भएका हुन् ।

तीन दिनसम्म चल्ने उक्त सम्मेलनको उद्घाटन त्यहाँका कृषिमन्त्री चार्ली मेककोनालगले गरेका छन् । सम्मेलनमा आलु खेतीदेखि उत्पादन र किसानले विभिन्न क्षेत्रमा भोग्नुपरेका समस्याबारे कुराकानी, अनुभव साटासाट र कार्यपत्र प्रस्तुत हुने बताइएको छ ।

आयरल्याण्ड आलुको निम्ति पर्यायवाची रहेको त्यहाँका अधिकारीहरुले उल्लेख गरेका छन् । उनीहरुले आलु नै आफ्नो मुलुकको इतिहास र परिचय भएको सगर्व बताएका छन् । सम्मेलनबाट आलुका नयाँ प्रजाति, आलु सम्बन्धी नयाँ व्यवसायमाथि पनि पर्याप्त छलफल र अनुसन्धान निश्कर्ष निकालिँदै छ ।

अहिले विश्वमा देखिएको खाद्य संकटसँगै आलुको महत्व बढेको हो । विश्वमा सँधै खाद्य संकटमा आलुले मानव जीवनको रक्षामा ठूलो योगदान पुर्याउँदै आएको छ । कार्यक्रमको अन्तमा सहभागीहरुले स्थानीय आलु खेतीका फार्म र आलु महोत्सवमा पनि भाग लिने बताइएको छ ।

नेपालमा पनि तराइदेखि हिमाली क्षेत्रसम्म आलु खेती गरिन्छ । दुर्गम भेगका जनता र गरिब नागरिकको बाँच्ने प्रमुख आधार पनि आलु नै हुँदै आएको छ । आलु विश्वको सबैभन्दा पूरानो खाद्यवाली हो । यसको उत्पत्ति इसापूर्व ८ हजारदेखि ५ हजार वर्ष अगाडि पेरुमा भएको विश्वास गरिएको छ ।

टिप्पणीहरू