विष्णुमतीमा शव फाल्ने ३ जना फेला परे

विष्णुमतीमा शव फाल्ने ३ जना फेला परे

प्रहरीले हत्या आरोपमा तीन जनालाई पक्राउ गरेको छ । करिब दुई साताअघि सिन्धुपाल्चोकको जुगल गाउँपालिका–८ स्थित बराम्चे घर भएका ३५ वर्षीय जीवन भन्ने कान्छा लामा तामाङको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउपछि सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर बाग्मती गाउँपालिकाको फापरबारीका कान्छामान थोकर, दीपक वाइबा र ललितपुरको गोदावरी नगरपालिका ६, लेले घर भएकी गायत्री नगरकोटीलाई प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता कृष्णप्रसाद कोइरालाका अनुसार वैशाख २८ गते काठमाडौंको नयाँबजार विष्णुमती पुल नजिकैको ‘बालाजु संरक्षण समिति एवम् श्री शिव मन्दिर गंगा पहलमान पौवा’ परिसरभित्रको भवनको कोठामा कान्छा लामा तामाङको हत्या गरिएको रहस्य खुलेको छ । अभियुक्तहरुले टाउकोमा ह्याम्मरले हान्नुको साथै घाँटीमा सलले कसेर हत्या गरेको स्वीकारेका छन् ।

हत्यापछि शवलाई उनीहरुले विष्णुमतीमा फालेका थिए । जेठ ५ गते दक्षिणकाली नगरपालिकाको पावर हाउस नजिकैको बाग्मती नदी किनारमा शव भेटिएको थियो ।

अनुसन्धानको क्रममा सुरुमा कान्छामान थोकर र गायत्री नगरकोटी पक्राउ परेका हुन् । उनीहरुको बयानको आधारमा दीपकलाई पनि प्रहरीले हिजो कलंकीबाट पक्राउ गरेको हो । अभियुक्तहरुलाई आवश्यक कारबाहीको लागि काठमाडौं प्रहरी परिसर टेकु पठाइएको छ ।

टिप्पणीहरू