शरीर चल्ने, साझा जिन्दगी नचल्ने ती सुन्दरी

शरीर चल्ने, साझा जिन्दगी नचल्ने ती सुन्दरी

गिसाङ त्यस्ता कोरियाली महिला हुन् जसलाई सानैदेखि उच्च कुलिनघरानाका पुरुषलाई मनोरञ्जन प्रदान गर्न तालिम दिइएको हुन्छ । यिनीहरू तल्लो जातिका हुन्छन् । शुरुशुरुमा नाचेर, गाएर वा संगीतको माध्यमबाट पुरुषलाई मनोरञ्जन दिलाए पनि कालान्तरमा यिनीहरूले तिनै पुरुषको कामवासना शान्त पार्न थाले । जापानका गिसा र नेपालका वादी समुदायजस्तै । जापानमा गिसाको प्रचलन धेरै पहिलादेखि भए पनि सन् १८७२ मा सम्राट् मेइजीले राजनीतिक सुधारका साथै वेश्यावृत्ति पेशालाई पनि खुकुलो बनाएपछि बल्ल गिसा युवतीले खुलेर यो धन्दा चलाउन थालेका हुन् ।

जतिखेर जापानमा गिसाको प्रचलन शुरु भयो लगत्तै कोरियामा पनि गिसाङ प्रथा थालियो । सन् १३९२ अघिसम्म अर्थात् एकीकृत कोरिया बन्नु अघिसम्म कोरियामा ३ वटा बेग्लाबेग्लै अधिराज्य थियो । तीमध्येको हो– गोरियो । पहिलोपटक गिसाङ प्रथा यही अधिराज्यमा देखापरेको हो । खासगरी तल्लो जातिका युवतीले मथिल्लो जातिका पुरुषको मनोरञ्जनार्थ नाच्न, गाउन र कामवासना पूर्ति गराउन थाले । त्यसबेलाको समाजले यो समूहलाई हेलाँको आँखाले हेथ्र्यो । कसाइ र दास भनी गाली गथ्र्यो । र, गिसाङ युवतीलाई फोहोरी स्त्री सम्झन्थ्यो । गिसाङहरूको बिहे हुन्नथ्यो । तर, सन्तान जन्माउन भने रोकतोक थिएन । बाउको पहिचान नहुने यिनीहरूबाट जन्मेका छोरा जित चियोन्मिन (असभ्य मानिस) कहलिन्थे भने छोरी जित स्वतः गिसाङ ।

यो पेशा अपनाएका युवती आफूखुशी पेशा छाड्न सक्दैनथे । छाड्ने मन भए राज्यलाई एकमुष्ट धनराशि तिर्नुपथ्र्याे । पुरुषलाई मनोरञ्जन दिनुपर्ने पेशा भएकाले यो पेशामा लागेका अधिकांश युवती कवयित्री हुन्थे । धेरैले परम्परागत कोरियाई कविताको शैली ‘सिजो’ जान्दथे नै ! गिसाङहरूले ‘सेवा’ गर्ने अवधि निकै छोटो हुन्थ्यो । १६ वा १७ वर्षको उमेरमा शुरु हुन्थ्यो र २२ वर्ष पुग्दानपुग्दै समाप्त । कोही–कोही मात्र अलिक लामो समयसम्म सेवामा रहन्थे । यद्यपि, त्यतिबेलाको कानुनअनुसार सेवाबाट निवृत्त हुने उमेर ५० थियो । त्यतिबेला चीनबाट ठूलो संख्यामा ठूला नेता तथा गन्यमान्य व्यक्ति कोरिया जान्थे । कोरियाली सरकारी अधिकृत तथा व्यापारीले उनीहरूको मनोरञ्जनार्थ गिसाङहरूलाई सेवामा लगाउँथे । कोरियामाथि जापानले सन् १५९२ मा आक्रमण ग¥यो । १५९२ देखि १५९८ सम्म आक्रमणको अवधि रह्यो । यो समयमा पनि यी गिसाङ जापानी सैन्य अधिकृतको सेवामा समर्पित रहे । त्यसबेला जु नोङाइ नाउँ गरेकी गिसाङले जापानी जर्नेल केयामुरा रोकुसुकेको हत्या गरिदिएकी थिइन्, जसको कारण उनी वीरा¨नासमेत घोषित भइन् ।

कोरियामा केही गिसाङको नाउँ प्रख्यात छ । जस्तो डु ह्याङ । उनी दार्शनिक, लेखक र कन्फ्युसियसका अनुयायी बुद्धिजीवी यी ह्वाङकी प्रेमिका थिइन्, जसले यी मरेको खबर सुनेपछि डायङ नदीमा हाम्फालेर आत्महत्या गरेकी थिइन् । त्यस्तै चु ह्याङ र यी माइचाङले त्योबेला नामी कवयित्रीको रूपमा नाम कमाए । त्यस्तै लोकप्रिय संगीतकार र बुद्धिजीवीको रूपमा प्रख्यात सोल माई, प्योङयाङमा जापानी जर्नेल कोनिसी युगिनागाको हत्या गर्ने षड्यन्त्र गर्दा आफैँ मारिएकी ग्येहोलह्याङ आदि ।

ह्वाङ जिन यी पनि गिसाङ नै हुन् । उनी राजा यी युकको शासनकालकी गिसाङ थिइन् । ह्वाङको जन्म सन् १५०६ मा भएको हो । उनको असाधारण सौदर्य, तिक्ष्ण बुद्धि, स्वतन्त्र विचारको आजपर्यन्त त्यहाँ चर्चा गरिन्छ । त्यसैले उनको जीवनीमा आधारित रहेर कैयौं उपन्यास लेखिएको छ, सिनेमा, नाटक, टिभी श्रृंखला बनिसकेका छन् । यहाँसम्म कि अन्तर्राष्ट्रिय खगोलविद्हरूको संगठन ‘आइएयु’ ले शुक्रगृहको एउटा मोहडालाई उनैको नाउँमा नामकरण गरेको छ– ‘ह्वाङजिनी’ ।

उनी गिसाङ जियोन हुङ गुएमकी छोरी हुन् । जियोन लुगा धोइरहेको बेला त्यहाँका राजनीतिज्ञ ह्वाङले देखे र मन पराए । उनीहरूले एकले अर्कोलाई औधी माया गर्थे तर, सामाजिक बन्धनका कारण बिहे सम्भव भएन र जियोनले छोरी ह्वाङ जिन यी (ह्वाङ जिनी) लाई अवैध सन्तानको रूपमा जन्माइन् । ह्वाङ किशोरी अवस्थामा पुग्दा नपुग्दै उनको सौन्दर्यको चर्चा सर्वत्र हुन थालिसकेको थियो । दर्जनौं युवक उनीसँग बिहे गर्न लालायित भए । भनिन्छ, एकदिन उनको घर अगाडिबाट एउटा शव घाटतर्फ लगिँदै थियो । तर एक्कासी शव अगाडि बढ्नै मानेन । मलामी हिँडेका सबै छक्क परे । सबैको मुखबाट एउटै कुरो निस्क्यो कि ह्वाङ घरबाट निस्केर एउटा कविता वाचन नगरेसम्म शव अगाडि बढाउन सकिन्न । उनी घरबाट निस्की शवको नजिक पुगिन् अनि लगाइराखेको लुगा च्यातेर एक टुक्रा कपडा जब शवमाथि राखिदिइन् तब बल्ल यात्रा अघि बढ्यो । पछि सबैले थाहा पाए कि शव ह्वाङका प्रेमीको रहेछ ।

उनी उच्च घरानाका रहेछन् र सामाजिक स्तर नमिलेको कारण दुवैको बिहे हुन नसकेको रहेछ । त्यति मात्र होइन, तिनै प्रेमीसँगको बिछोडपछि बल्ल ह्वाङले आफू पनि गिसाङ बन्न स्विकारेकी रहिछन् । त्यसबेला गिसाङहरूसँग जो कसैले पनि माया लाउँथे तर गिसाङहरू पानी नचल्ने तल्लो जातिको मानिएका कारण बिहे भने गर्दैनथे । ह्वाङले यो सामाजिक भेदभावविरुद्ध आवाज उठाइन् । आफूहरूको अधिकार अरुसरह हुनुपर्ने माग गरिन् । नाचगानको शिक्षा मात्र होइन, अन्य नारीसरह कला, साहित्य, कविताको शिक्षा पनि पढ्न पाउनुपर्ने माग उठाइन् ।

गिसाङ बनेको केही समयपश्चात् नै ह्वाङको रूपको चर्चा कोरियाली प्रायद्वीपभरि फैलियो । को उच्च, को तल्लो जातिका पुरुष सबै उनको कला, नृत्य, गायनले उत्ताउलो बने । टाढाटाढादेखि उनलाई हेर्न र भेट्न मानिस ओइरिन थाले । जति पनि मानिस उनलाई भेट्थे उनको चातुर्यपन, तिक्ष्ण दिमाग र रूपबाट प्रभावित नबन्ने कोही भएनन् । सबै उनको श्रीमान् बन्ने सपना देखेर फर्कन्थे । उनीद्वारा रचित एउटा कविता ‘जमेको प्रेम’ यस्तो थियो  :

म यो लामो नोभेम्बरको रातलाई विभाजन गर्छु,
कुण्डली कुण्डली पारेर
यसलाई म न्यानो वसन्तको कम्बलमुनि राख्छु,
जब मेरो जमेको प्रेम पग्लिन्छ
तब म यसलाई रातमा फैलाउँछु ।

अर्को एउटा कविता ‘हरियो पानी’
हरियो पानी,
नीलो पहाडबाट झरेको बहावमा घमण्ड नगर्नू,
जब तिमी नीलो समुद्रमा मिसिन्छौ
फर्कन असम्भव बन्छ,
एक पूर्णिमाले यी शान्त पहाडहरूको शोभा बढाइदिन्छ,
के तिमी एकछिन् आराम गर्दैनौ ?

सन् २००७ मा एउटा चलचित्र बन्यो ‘ह्वाङ जिन यी’ । यो चलचित्र उपन्यासकार होङ सेओक जुङको उपन्यास ‘ह्वाङजिनी’ मा आधारित थियो । कोरियाली नगरबधू ह्वाङजिनीको जीवनीमा बनेको यो चलचित्रमा ह्वाङको अभिनय चर्चित नायिका सोङ हेइ क्योले गरेकी थिइन् । उक्त चलचित्रले ८५ लाख अमेरिकी डलरको ब्यापार गरेको थियो ।

यसअघि सन् २००६ मा उनैको जीवनीमा आधारित टिभी ड्रामा ‘ह्वाङजिनी’ त्यहाँको टेलिभिजन ‘केभिएस २’ ले प्रशारण गरेको थियो, २४ श्रृंखलाको । यसबाहेक उनीबारे धेरै नाटक, कविता, गीत पनि सिर्जना गरिएका छन् ।
ह्वाङको निधन ५४ वर्षको उमेरमा सन् १५६० मा भयो ।

टिप्पणीहरू