कांग्रेसद्वारा कांग्रेसमाथि गुलेली
स्थानीय तहबाट उम्मेदवारको सूचीमा सिफारिस नै नभएका ब्यक्तिलाई जिल्लाले मेयरको उम्मेदवार बनाएर पठाइदिएपछि शुरु भएको दुई गुटको झगडाकै कारण मोरङमा कांग्रेसले पहिले जितेको एउटा पालिका गुमाएको छ । त्यति मात्र होइन, गुटबन्दीकै साइड इफेक्टका कारण त्यही नगरपालिकाका वडाध्यक्ष पनि हारको शिकार भएका छन् ।
कांग्रेसबाट अघिल्लो चुनाव जितेका नगर प्रमुख शिवप्रसाद ढकाललाई प्रत्यासी नबनाई नगर सभापति भक्तिप्रसाद सिटौलाले आफूसहित अन्य केही व्यक्तिको नाम सिफारिस गरी माथिल्लो निकायमा पठाएका थिए । ढकालले मेयरका लागि त टिकट ल्याए तर चुनाव जित्न सकेनन् । आन्तरिक किचलोका कारण पराजय भोग्न पुगे ।
मतगणना जारी रहेका बखत मेयरका उम्मेदवारले क्षेत्रीय सभापति र नगर सभापतिको नामै किटेर कांग्रेसका उम्मेदवार हराउन एमालेलाई भोट हाल्न लगाएको भन्दै फेसबुकमा लेखेपछि कांग्रेसका दुई गुटबीचको मनमुटाव चर्को भएको हो । फेसबुक स्टाटसमै विभिन्न कार्यकर्ताबाट प्रदेश र संघीय चुनावमा हेरौंला भन्ने अभिव्यक्तिसहित क्षेत्रीय र नगर पार्टी सभापतिलाई कालोमोसो दल्ने धम्कीसम्म खेप्नुपरेको छ, अन्तरघाती, गद्दार आदि इत्यादि पदवी त कति हो कति ।
शनिबार बिहान फेसबुक स्टाटसमार्फत ढकालले मोरङ कांग्रेसकी ६ नम्बर क्षेत्रका सभापति देवु तामाङ र नगर सभापति भक्ति सिटौलाले सात सूर्यमा भोट हलाएको उल्लेख गर्दै लेखेका छन्– ‘सुन्दरहरैँचामा उनीहरूको असली अनुहार क–कसले चिनेको छ ? स्थानीय निर्वाचनमा उनीहरूको भूमिका र कांग्रेस हराउन खोज्ने अरूको नाम पनि सिलसिलेवार आउनेछ ।’
यसैबीच, चुनावी परिणाम आएकै दिन आइतबार निवर्तमान मेयर शिव ढकालले आफ्नो फेसबुक ह्याक भएको तर पासवर्ड चेन्ज गरेर मुस्किलले फिर्ता लिएको दाबी गरेका छन् । स्थानीय तह पुनःसंरचना हुँदा दुई नगरपालिका मिलेर एउटै बनेको देशकै एक मात्र स्थानीय तह सुन्दरहरैंचा नगरपालिका एमाले उम्मेदवार केदारप्रसाद गुरागाईंको पक्षमा जान थालेपछि निवर्तमान मेयर तथा मेयरकै उम्मेदवार शिवप्रसाद ढकालले कांग्रेसका नेताले सूर्यमा मतदान गरेको आरोप लगाए । अन्ततः त्यहाँ कांग्रेस चार वडाध्यक्षसहित १४ जनप्रतिनिधिमा सीमित भयो । एमालेले मेयर र उपमेयरसहित बहुमत वडा जित्यो ।
सुन्दरहरैंचाका १२ वडामध्ये वडा नं १ र २ कांग्रेसले पूरै र ४, ६ र ९ को वडाध्यक्ष र वडा नम्बर ११ को एक सदस्यमा चित्त बुझाउनुपरेको छ । गुटबन्दीकै असरले यसअघि चुनाव जितेको कांग्रेस प्रदेश १ का उपसभापति तथा राष्ट्रिय सभा सदस्य माननीय रमेशजंग रायमाझीको वडासमेत कांग्रेसले गुमाएको छ । वडा नम्बर ३ मा यसअघि जीवन ढुंगाना वडाध्यक्ष थिए तर यसपालि कांग्रेस उम्मेदवार केन्द्रदीप पोख्रेलको प्यानललाई नेकपा एमालेका विदुर ढुंगानासहितको प्यानलले पराजित गरिदिएको छ ।
यसअघि कांग्रेसले सेट नै जितेको वडा ७ मा कांग्रेस उम्मेदवारलाई हराउँदै बागी स्वतन्त्र उम्मेदवार भुवन सिंह आलेमगर विजयी भएका छन् । नगर सभापति भक्ति सिटौलाको वडा यसमा नेपाली कांग्रेसबाट अघिल्लो चुनावमा वडासदस्य पदमा अत्यधिक मत ल्याएर विजयी बनेका आलेमगर यसपटक स्वतन्त्रबाट वडा अध्यक्षमा बिजयी बनेका छन् । यसअघि जितेको वडा नम्बर ५ मा पनि एमालेले जितेको छ । यो वडा नेपाली कांग्रेस क्षेत्र सभापति देवराज तमाङको वडा हो । कांग्रेसलाई यो वडाबाट सोचेजस्तो मत आउन नसकेकै कारण कांग्रेसका मेयर ढकाललाई नेकपा एमालेका केदार गुरागईंले जित्दै लगे र अन्ततः जिते पनि ।
चुनावी प्रचार प्रसारमा नेता रमेशजंग रायमाझी, ललित श्रेष्ठ, लोकप्रसाद संग्रौला, डा. सुनिल शर्मादेखि नेपाली कांग्रेसका शीर्ष नेता डा. शेखर कोइरालासमेत आएर भाषण ठोके तर त्यो पानीको फोकाझैं बेकार भयो । सुन्दरहरैँचाको मेयर पदमा कांग्रेस, उपमेयरमा माओवादीबीच गठबन्धन भएको थियो । तर कांग्रेसी गुटबन्दीको असरले उसका मात्रै होइन, माओवादी उम्मेदवार पनि ‘बलिको बोको’ बनेका छन् । त्यसो त पहिले मेयर जितेको सुन्दरहरैंचा मात्रै होइन, मोरङको लेटाङ, केराबारी, उर्लाबारी, सुनसरीको धरानजस्ता पहिले जितेका पूर्वका स्थानीय तहको नेतृत्व पनि यसपालि कांग्रेसले गुमाएको छ ।
– अम्बिका भण्डारी
टिप्पणीहरू