कन्सर्टलगत्तै भारतीय गायक बिते

कन्सर्टलगत्तै भारतीय गायक बिते

भारतीय गायक कृष्णकुमार कुन्नाथको हिजो कलकत्तामा आयोजित कन्सर्टलगत्तै निधन भएको छ । केकेको नामले प्रख्यात बलिउड गायकले हिन्दी, तमिल, तेलुगु, कन्नड, मलायालम, मराठी, बंगाली, असामी र गुजरातीलगायतका भाषाका गीतमा स्वर दिएका छन् ।

विज्ञापन जिंगलबाट गायन यात्र शुरु गरेका ५३ वर्षे केकेको कन्सर्टलगत्तै निधन भएको हो । उनले संगीतकार एआर रहमानका धेरै वटा संगीतमा स्वर भरेका छन् ।

हिजो दक्षिण कलकत्ताको गुरुदास कलेजमा आयोजित सांगितिक कार्यक्रमपछि उनको निधन भएको हो । एक घण्टाको कन्सर्टपछि होटल पुगेका उनले छातिमा असहज महशुस गरेका थिए । लगत्तै नजिकैको सीएमआरआई अस्पताल पुर्याएपछि उनको ज्यान गएको बताइएको छ ।

केकेको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । हिजो साँझ गरिएको ट्वीटरमा प्रधानमन्त्रीले प्रख्यात गायकको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै उनका गीतले सँधै सम्झना गराइरहने उल्लेख छ ।

टिप्पणीहरू