यस्ता अंगरक्षक केका लागि ?
प्रहरीलाई व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) को रुपमा खटाउने मापदण्डविपरीत कतिपयले नेताहरूलाई अनावश्यक बडीगार्ड दिएको पाइएको छ । कपिलवस्तुका ईश्वरदयाल मिश्रले पर्सनल सेक्युरिटी अफिसर लिएर गाउँ–गाउँमा रवाफ देखाउँदै हिँडेपछि यस्तो पाइएको हो ।
स्रोतका अनुसार २०–२५ वर्षअघि रासन ठेकेदारको काम गर्ने मिश्र एकपटक मन्त्रीसमेत भएका थिए । त्यसैगरी, रामविलास चौधरी पनि पीएसओ लिएर गाउँघर डुल्दै छन् । उनी आपराधिक पृष्ठभूमिका व्यक्ति भएको जानकारहरूले बताए । उनले ०७५ सालमा ठूलै वितण्डा मच्चाउँदा तत्कालीन प्रहरी प्रशासनले मुद्दा दायर गर्न भने सकेन ।
त्यसबेला माओवादी नेताको रुपमा रहेका चौधरीलाई प्रचण्डलगायतको दबाबमा मुद्दा चलाउन रोकिएको बताइन्छ । अहिले उनी एमालेमा छन् । आपराधिक पृष्ठभूमि भएका मान्छेलाई प्रहरीले नै सुरक्षा दिएर हिँड्नुपरेपछि पीएसओको हुर्मत निस्किएको छ ।
त्यसैगरी, कृष्णनगरमा भर्खरै मेयर जितेका रजतप्रताप शाह, एक जना वडाध्यक्ष, क्रिकेट खेलाडी फैजल खानले पनि बर्दीधारी सुरक्षाकर्मी लिएका छन् । यी सबै पीएसओ अहिले खोसिए पनि पुनः राख्न स्थानीय प्रशासनलाई दबाब परेको बताइन्छ । जबकि गृहमन्त्रीबाट पदमुक्त हुनेले समेत पीएसओ पाउन हम्मेहम्मे पर्छ । यस्तो बेला शाह, मिश्र, खानहरूलाई केका आधारमा पीएसओ दिइयो भन्ने प्रश्न उठेको छ ।
प्रभाव र पहुँचका आधारमा उपलब्ध गराइएका पीएसओले प्रहरीको हुर्मत लिनुका साथै तिनका कारण गाउँका सामान्य मानिसमा नकारात्मक प्रभाव पर्ने जानकारहरूले बताएका छन् । उनीहरूका अनुसार तराईको गाउँमा प्रहरीको सुरक्षा लिएर हिँड्ने भनेपछि उसको ‘रुतवा’ निकै माथि हुने गर्छ । राज्यले अनावश्यक रुपमा व्यक्तिको प्रभाव बढाउन सहयोग पुग्ने गरी पीएसओ खटाउने कार्यमाथि पुनर्विचार हुनुपर्ने गृहका सहसचिवहरू बताउँछन् ।
टिप्पणीहरू