ओली सुध्रेको कि यी कमरेडहरु बिग्रेको !
स्थानीय तह निर्वाचनमा अनपेक्षित परिणाम भोगेको नेकपा एमालेमा अन्तर्घातको आरोप चर्किएको छ । अध्यक्ष केपी शर्मा ओली आफैंले पार्टीको हारमा ‘लज्जास्पद अन्तर्घात’ मुख्य कारण रहेको दाबी गरेपछि तलका कार्यकर्ताहरु कुटाकुटमा समेत उत्रिन थालिसकेका छन् । कतिपय ठाउँमा अन्तरघातीलाई नछोड्ने भन्दै मोसो दलेर र जुत्ताको माला लगाएर भौतिक कारवाही थालिएको छ ।
त्यसो त,चुनावमा पराजित भएपछि अन्तर्घात र धाँधलीको कुरा आउनु नेपाली राजनीतिमा अनौठो होइन । तर,एमालेमा अहिले अन्तर्घातको विषय चर्को रुपमा उठ्नु विशेष छ । माधवकुमार नेपाल र झलनाथ खनाल बाहिरिएपछि पार्टीमा कुनै गुट नभएको र सबै अध्यक्ष ओलीमा केन्द्रित रहेको एमाले नेताहरुको दाबी रहँदै आएको थियो । यसैलाई उनीहरुले पाँचदलीय गठबन्धनविरुद्ध प्रतिष्पर्धा गरेर चुनाव जित्ने आधार मानेका थिए । तर,चुनावको परिणाम उनीहरुले दाबी गरेजस्तो आएन । अनुकूल परिणाम नआउनुलाई ओलीनिकटहरुले हिजोदेखिकै घात,प्रतिघात र अन्तर्घातको शृंखला भनेर विगतमा माधव नेपालसँग नजिक रहेका नेताहरुतिर प्रश्न सोझ्याउन थालेका छन् ।
यहि निउँमा तल तल कार्यकर्ता जुधिरहेका बेला सामाजिक सञ्जालमा एउटा पुरानो भिडियो क्लिप भाइरल भएको छ । तत्कालीन नेकपाको अन्तरसंघर्षमा प्रचण्ड-माधव समूहतिर रहेका र एमालेमा विवाद हुँदा अन्तिमसम्म माधवको साथमा रहेर विभाजनका बेला १० बुँदे गरी ओलीतिरै फर्किएका नेताहरुका त्यो बेलाका अभिव्यक्ति समेटिएको भिडियो भाइरल भएको हो । तत्कालीन माधव समूहमा लागेकाहरुलाई नँग्याउन एमालेको संस्थापनबाटै योजनावध्द ढंगले छरपष्ट पारिएको भनिएको त्यो भिडियो अहिले अन्तर्घातको कुरा आउँदा जोडिन पुगेको हो ।
कतिसम्म भने प्रतिनिधिसभाको पहिलो विघटनपछि तत्कालीन नेकपाको प्रचण्ड-माधव समूहले आयोजना गरेको विरोधसभाहरुमा अहिले एमालेमा ओलीसँगै कुम जोडेर बस्ने केही नेताहरुका अभिव्यक्ति सामान्य थिएनन् । उनीहरुका अभिव्यक्तिमा राजनीतिक मतभेदमात्र थिएन,व्यक्तिगतरुपमा पनि ओलीमाथि गम्भीर आरोप लगाइएको थियो । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भृकुटी मण्डपको विरोधसभामा केपी ओली कमरेड सम्बोधनका लागिसमेत लायक नरहेको टिप्पणी गरेकी थिइन् । त्यतिबेला उनले अहिलेका अध्यक्षलाई प्रतिगामी,निरङ्कुश, स्वेच्छाचारी नेताको संज्ञा दिँदै संविधान क्वाप्लाक्कै निलेको आरोप लगाएकी थिइन् ।
अहिले अध्यक्ष ओलीसँग नजिकिने प्रतिस्पर्धामा रहेका अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले झन् चर्को कुरा गरेका थिए । उनले ओलीलाई राम मन्दिरको पूजारीको भूमिका सुहाउने भन्दै कटाक्षपूर्ण टिप्पणी गरेका थिए । ओलीसँग देश निर्माणको भिजन र दृष्टिकोण नभएको भन्दै पाण्डेले चितवनको एउटा सभामा उडन्ते र हावादारी कुरा गरेर सनकका भरमा पार्टी र सरकार चलाइरहेको आरोप लगाएका थिए ।
“उनीहरुले दुई महिनाअघि प्रतिगामी,स्वेच्छाचारी, निरङ्कुश भनेर सत्तोसराप गरेका थिए,दुई महिनापछि सहजै स्वीकार गरे । परिस्थितिमा खास बदला नआउँदै उनीहरु ओलीलाई नेता मान्न किन तयार भए ? उनीहरुलाई कुन रसायनले जोड्यो ?”
‘म माडीका मेयर साबलाई भन्न चाहन्छु । हामी तीन जना सांसद तपाईहरुकै साथमा छौँ,एउटा प्रस्ताव गर्न चाहन्छु,माडीमा राम मन्दिर बनाउँ र त्यहाँ केपी ओलीलाई मूल पुरोहित बनाएर राखिदिऊँ । त्यसो भएपछि उहाँलाई त्यसैमा चित्त बुझ्छ । उहाँलाई देश बनाउने कुरासँग सरोकार रहेनछ’ त्यतिबेला उनले भनेका कुरा अहिले पनि खोजेर सुन्न सकिन्छ ।
पछिल्लो समय ओलीसँग बढी नै निकट रहेका अर्का नेता योगेश भट्टराईले पनि एमालेका कार्यकर्तालाई अनपढ र गँवार भनेका थिए । त्यतिबेला ओली समूहमा रहेका नेता-कार्यकर्तातर्फ इंगित गर्दै उनले भनेका थिए, ‘आइ लभ यु केपी बा भनेर सडकमा नारा लगाउन बाहेक अरु के जानेका छन् ? कुन जनताको बहुदलीय जनवादको स्कुलमा पढेका छन् ?’ प्रतिनिधिसभा विघटनविरुद्धको कार्यक्रममा भट्टराईले मण्डले र पूर्वपन्चहरु ओलीको पक्षमा लागेको देखेर आफूलाई घिन लागेको पनि भनेका थिए ।
माधव नेपाल प्रधानमन्त्री हुँदा उहाँको प्रेस सल्लाहकार रहिसकेका र एमालेमा शालीन युवा नेताको पहिचान बनाएका विष्णु रिजालले पनि ओलीलाई गफाडी नेता भनेका थिए । राष्ट्रिय टेलिभिजनमा दिएको एउटा अन्तर्वार्तामा उनले ओलीले बोलेका कुराको सबै फेहरिस्त बनाउँदा १० प्रतिशत पनि सही कुरा फेला नपर्ने दाबी गरेका थिए । ओलीले राष्ट्रपति संस्थाको दुरुपयोग गरेर असंवैधानिक कदम चालेको पनि उनको आरोप थियो ।
चितवन महाधिवेशनमा अध्यक्षमा उठेर सर्वसम्मत नेतृत्व चयन गर्ने ओलीको प्रयासलाई चुनौती दिएका भीम रावलले राजनीतिक अपराधी भनेका थिए । नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा ओलीले ठूलो अपराध गरेको उनको आरोप थियो ।
कुनै पनि राजनीतिक दल निश्चित बिचार,सिद्धान्त,नीति र कार्यक्रम मिल्नेहरुको संगठन/समूह हो । त्यसैका आधारमा पार्टीहरु बन्ने र नमिल्दा विभाजन हुने सार्वभौम नियम हो । कुनै कार्यक्रम विशेषमा असहमत हुँदा पार्टीमा दुई लाइन संघर्ष चल्छ,तर आधारभूत विषयमै विमति भैसकेपछि निजी स्वार्थले बाहेक एकै ठाउँमा रहने अवस्था बन्दैन । यस्तो मान्यता कम्युनिष्ट पार्टीमा अझ बढी लागू हुन्छ।
तर,एमालेका १० बुँदेवालाहरु यस्तो समूह हो,जो ओलीसँग गम्भीर राजनीतिक मुद्धामा असहमत भएर पनि एमालेमै बसेको थियो । त्यहि नेतृत्व हो,जसलाई उनीहरुले दुई महिनाअघि प्रतिगामी,स्वेच्छाचारी, निरङ्कुश भनेर सत्तोसराप गरेका थिए,दुई महिनापछि सहजै स्वीकार गरे । परिस्थितिमा खास बदला नआउँदै उनीहरु ओलीलाई नेता मान्न किन तयार भए ? उनीहरुलाई कुन रसायनले जोड्यो त्यो उनीहरुले नै जान्ने कुरा हो । र एमालेका नेता-कार्यकर्ताले खोजी गर्ने विषय हो । तर, अहिले अन्तर्घातको विषय जोडतोडले चलिरहँदा सामाजिक सञ्जालहरुमा सार्वजनिक भएका केपी ओलीलाई गाली गरेका उनीहरुका ती अभिव्यक्तिलाई लिएर हुने टिप्पणी अन्यथा होइन ।
https://www.facebook.com/ashok.rawal.7140/videos/1179814866125791
भिडियो साभार: अशोक रावल फेसबुक
टिप्पणीहरू