सेनामा यस्तो अन्याय त कति कति !
आफू चोखो छु, म घुस खान्न भनेर मात्र के गर्नु, त्यस्तैलाई ओथारो हालेर बस्ने भएपछि ! प्रभुराम शर्मा सेनापति भएपछि एकतारे र दुईतारे धेरै जर्नेलको हेरफेर भयो । तर सेनाको कुवेत मानिने सम्भाररथीमा भने ताराध्वज पाण्डे पूर्णचन्द्र थापाकै पालादेखि टाँसिएको टाँसियै भए ।
एकातिर पाण्डेको यो खुबीबारे सैनिक वृत्तमा व्यापक चर्चा छ भने अर्कोतर्फ चाकडीकै भरमा जनसेवाश्री तक्मा थापेर माथि उक्लनेको जंगी अड्डामा कुनै कमी छैन । यसरी हाकिम रिझाएर एक्कासि टुप्पिएका सैनिक अधिकृतहरूको सूचीमा २७ बेसिकको सय नम्बरतिरका सन्तोषवल्लभ पौडेल, पवन घिमिरेसहित पछिका मधुकर कार्की, माधव थापा, प्रेम शाही, अनन्त कार्की, टंक भट्ट र मानबहादुर महराहरु छन् ।

दरबार हत्याकाण्डका बेला राजपरिवारको एडिसी रहेका सुन्दरप्रताप राना, गजेन्द्र बोहोरा, राजु कार्कीलगायत सबैजसो सैनिक अधिकृतले जागिरबाट हात धोए पनि मधुकर कार्की भने भाग्यमानी ठहरिए । उनलाई पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो अंगरक्षक मात्र नबनाई बेलायत तालिममा समेत पठाए । न गण कमाण्ड, न कुनै तालिम ।३०औं बेसिकका सैनिक अधिकृत उनलाई पदोन्नति गर्दै २७औं बेसिकका अधिकृतको लाइनमा ल्याएर राखिएको छ । प्रमुख सेनानीमै घर जाने थिए । तर, स्याण्डहस्र्टमा एकै ठाउँ कोर्ष गरेको र तत्कालीन प्रधानसेनापति गौरवसमशेर राणासँग साइक्लिङमा हिँडेबापत तक्माको नम्बरले पदोन्नत भए ।
सेनाको इतिहासमा साइकल कुदाएर हाकिम रिझाउने यो अनौठो चलनको श्रेय कार्कीलाई दिने गरिएको छ । त्यसैबेला पढेलेखेको र अंग्रेजी बोल्ने भन्दै तक्माका साथै पदोन्नति पाउनेमा पौडेल र घिमिरे पनि पर्दछन् जबकि तक्मा पाएर पनि नम्बर नपाई प्रमुख सेनानी महेन्द्रजंग लामिछाने घर फर्कन बाध्य भए । उनले राणालाई रिझाउन जानेको भए ब्रिगेडियर जनरलमा पदोन्नति हुन सक्थे ।
प्रमुख सेनानीबाटै यसरी नै अन्यायपूर्वक अवकाश पाउनेमा सोही ब्याचका उत्तम रूपाखेती पनि हुन् जसले ११ नम्बरको भए पनि दरबन्दी अभावका नाममा फुली थप्न पाएनन् । अस्वस्थ प्रतिस्पर्धा र चाकडी प्रथा बढेको भन्दै सशस्त्र र नेपाल प्रहरीमा भने अहिले मेडलको नाम दिन बन्द गरिएको छ ।
टिप्पणीहरू