किन बारम्बार बिग्रिन्छ यातायातको साइट ?
यातायात व्यवस्था विभागले अस्ति बेलुका ६ बजेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली शुरु गर्यो ।
पुराना अनलाइन आवेदन बन्द गर्दै विभागले नयाँ अनुमतिपत्रका निम्ति अनलाइन आवेदन माग गरेको थियो ।
तर आवेदन खोलेको दुई दिन नबित्दै सर्भर डाउन भएको छ । सर्भर डाउन भएपछि नयाँ अनुमतिपत्रको आवेदन लिने काम रोकिएको छ ।
विभागमा यो एउटै समस्या पटकपटक बल्झिने गरेको छ । तर, यसको निराकरणको उपाय भने खोजिएको छैन ।
विभागको लापरवाहीका कारण सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । यसलाई विभागको अनियमितताको संज्ञासमेत दिइएको हो ।
यातायात व्यवस्था विभागको वेभसाइटले अझै पनि काम गरेको छैन । सर्भरमा समस्या आउँदा सेवाग्राहीले पटकपटक एउटै कामका लागि समय खेर फाल्नुपरेको छ ।
यसबारे सूचना जारी गर्दै विभागले सर्भर डाउन भएको जानकारी दिएको छ । अनलाइन फाराम भर्ने सेवाग्राहीको चाप बढी भएको र सर्भरमा लोड परेकाले सर्भर डाउन भएको स्पष्टीकरण विभागको छ । दुई महिनादेखि अनलाइन फाराम बन्द रहेकाले सेवाग्राहीको चाप अत्याधिक रहेको विभागको ठहर छ ।
यता,सेवाग्राहीले भने यस्तो पनि सिस्टम हुन्छ ? भन्दै प्रश्न गरेका छन् । विभाग गैरजिम्मेवार भएको भन्दै औंला समेत उठाइएको छ ।
टिप्पणीहरू