आफ्नै जिल्लामा चोरलाई झैँ घेरेः कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज हेटौंडामा दुःखद् परिस्थिति गुजार्दै राजनीतिक जीवनलाई जोगाएको प्रसंग सुनाएका छन् । उनले उक्त प्रसंगसँगै सानो इकाईबाट पार्टीको कामलाई अघि बढाउन पनि कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाल नै मूलशक्ति भएकाले अहिले अन्यत्र लागेका साथीहरु कुनै दिन मूलशक्तिमै आउनुपर्ने जिकिर गरे । ‘कमल थापाको राष्ट्रिय राजनीति निमिट्यान्न पार्न लागेका केही मानिसले मकवानपुरमा केही मान्छे परिचालन गरेका छन्’, अध्यक्ष थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपातर्फ संकेत गर्दै भने, ‘कहिल्यै पार्टी काममा नहिँड्नेहरु पनि अहिले मविरुद्ध दौडधूप गरिरहेको देख्दा हाँसो लागेको छ ।’
थापाले सानै इकाईबाट पार्टीको काम शुरु गर्न भन्दै २०६४ सालको सम्झना गरे । ‘२०६३ मा राप्रपा नेपाल गठन गर्यौँ, २०६४ चैत २८ मा चुनाव थियो’, थापाले सम्झे–‘माओवादीको कब्जामा घरजग्गा थियो, हेटौँडा आउन सक्ने स्थिति थिएन । तैपनि सुरक्षाकर्मीको घेराबीच चोरलेझैँ केही शुभचिन्तकहरुसहित मैले उम्मेदवारी दर्ता गरेको थिएँ ।’
अहिले राप्रपा नेपाल सानो भयो भनेर नआत्तिन उनले आग्रह गरे । राजालाई गाली नगर्न र राजतन्त्रको पुनर्वहाली हुने कल्पना नगर्न समेत थापाले कार्यकर्तालाई सम्झाएका छन् । उनले पृथ्वीनारायण शाहको भनाइलाई पार्टीको मूलमर्म मान्दै अघि बढेको उल्लेख गरेर भने, ‘राजतन्त्र आउँछ भन्ने कल्पना नगर्नुस्, लोकतन्त्रको विकल्प छैन ।’
राप्रपा नेपालको भेला भोलि सकिनेछ । भेलामा बागमतीका १३ वटै जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको बताइएको छ । भोलि हरेक जिल्लाले आप्mनो वस्तुस्थितिबारे रिपोर्टिङ गरी कार्ययोजना निर्माण गर्ने कार्यसूची रहेको पार्टीका नेता राजाराम बर्ताैलाले जानकारी दिए ।
टिप्पणीहरू